Logo
Logo

प्रधानमन्त्रीले भने, ‘सभामुख झगडिया हुन्, किर्ते हुन्’


दृष्टि संवाददाता

756
Shares

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई झगडीया र किर्तेको संज्ञा दिएका छन् ।
नेकपा ओली समूहले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सभामुखलाई झगडिया र किर्तेको संज्ञा दिएका हुन् ।

संवैधानिक आयोगहरुमा असंवैधानिक रुपमा सरकारले गरेको नियुक्तिविरुद्ध सभामुख सापकोटाले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको विषयलाई लिएर प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई झगडिया भनेका हुन । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए– ‘सभामुख बनाइएको थियो एकजनालाई, उहाँ सरकारविरुद्ध मुद्धा हाल्न जानु हुन्छ । सरकार विरोधी झगडिया हो, सभामुख । सभामुखले झगडिया हुन सुहाउँछ ? सभामुख छानेको झगडिया हुनका लागि हो ? तर उहाँ झगडिया हुन जानु भएको छ ।’

प्रधानमन्त्री ओलीले सभामुखलाई झगडिया मात्र भनेनन्, किर्ते सभामुखसमेत भनेका छन् । प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको दिन नेकपाका बहुमत सांसद्ले अविश्वासको प्रस्ताव दर्ता गराएको विषयलाई लिएर ओलीले सभामुखलाई किर्ते भनेका हुन । प्रधानन्त्री ओलीले भने– ‘उहाँले किर्ते सनाखत गर्नु भएको छभन्दा पनि लाज लाग्छ । सभामुख जस्तो पदको मान्छेले किर्ते सनाखत गर्छ ? साढे तीन बजे दर्ता गर्न नदिएको कुरालाई १०ः४० मा ल्याएका थिए भनेर सनाखत गर्नु जस्तो लज्जास्पद कुरा के हुन्छ एउटा सभामुख जस्तो पदका लागि ?’

सभामुख सर्वोच्च अदालत गएकोप्रति आपत्ति जनाएका प्रधानमन्त्री ओलीले आफुहरु भने संविधान र लोकतन्त्रको रक्षाका लागि कटिवद्ध रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्