काठमाडौं, ९ फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारतको नयाँ दिल्ली जाँदै छन् । भट्टराई आज नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लागेका हुन् ।
भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको निदान अस्पतालमा लामो समयदेखि परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेकाले उनी दिल्लीमा त्यसको उपचारका लागि जान लागेको बताइएको छ ।
दिल्लीमा रहँदा उनको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ । उपचारका क्रममा उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहनेछन् ।
दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ ।