Logo
Logo

भारतबाट किनिएको २० लाखमध्ये १० लाख डोज खोप आइतबार काठमाडौं ल्याइँदै


दृष्टि संवाददाता

945
Shares

काठमाडौं, ९ फागुन । भारतबाट नेपाल सरकारले किनेको कोरोनाविरुद्धको खोप आज काठमाडौं ल्याईदैछ । नेपालले भारतसँग किन्ने भनेको २० लाख डोज कोभिड खोपमध्येको १० लाख मात्राको पहिलो खेप आइतबार काठमाडौं आइपुग्ने भएको हो ।

सरकारले भारतबाट २० लाख डोज खोप किनेको जनाएको छ । त्यसमध्ये पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् ल्याउन लागिएको हो । एयर इन्डियाको विमान दिउँसो साढे १ बजे नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्ने बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डारी गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने छ ।

यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले भारतबाट किनिएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने छ । नेपाललाई चीनले पनि ५ लाख डोज खोप अनुदानमा दिँदैछ। त्यसैगरी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) अन्तर्गतको संयन्त्र कोभ्याक्सबाट पनि नेपालले साढे २२ लाख डोज कोभिड खोप प्राप्त गर्ने जनाइएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रति खोप ४ अमेरिकी डलरको दरमा भारतसँग २० लाख कोभिड–१९ को खोप खरिद गर्ने निर्णय गरेको थियो। सोहि निर्णयबमोजिम सरकारले सो खरिद प्रक्रिया अघि बढाएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्