Logo
Logo

बोटलर्स नेपालले स्वामित्व परिवर्तन भएको स्वीकार गर्‍यो


दृष्टि संवाददाता

2.5k
Shares

काठमाडौं, ९ फागुन । पेय पदार्थ उत्पादन गर्दै आएको बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले सेयर स्वामित्व परिवर्तन भएको छ । राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले बोटलर्स नेपालले सेयर बिक्री भएर स्वामित्व फेरिएको स्वीकार गरेको बताएको छ ।

पुँजीगत लाभकर छली गरेको आशंकामा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दा बोटलर्स नेपालले सेयर बिक्री भएर स्वामित्व फेरिएको स्वीकार गरेको हो ।

विभागले बोटलर्स नेपाल लिमिटेडको ७६.१७ प्रतिशत सेयर बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको सूचनाका आधारमा कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। छानबिनको क्रममा बोटलर्सले सेयर स्वामित्व बिक्री भएको स्वीकार गरेको राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीको भनाई छ ।

सेयर बिक्री गर्दा पुँजीगत लाभकर छलीको सूचनाका आधारमा अनुसन्धान अघि बढाएको मैनालीले बताए । सेयर खरिद–बिक्री भएको बोटलर्स नेपालले स्वीकार गरेको र थप छानबिन भईरहेको उनको भनाई छ ।

बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फेन्टा जस्ता हल्का पेय पदार्थ उत्पादन गर्ने अमेरिकी कम्पनी हो। सब्को एसिया कम्पनीमार्फत साउथ अफ्रिकन गुत्से परिवारले बोटलर्स नेपालमा लगानी गर्दै आएको छ । गुत्से परिवारले सब्को कम्पनीमार्फत लगानी गरेको सेयर द कोकाकोला साउथ वेस्टलाई बिक्री गर्दा पुँजीगत लाभकर छली भएको विभागको आंशका रहेको छ ।

दुबईमा दर्ता भएको कम्पनीमार्फत लगानी भएकाले विदेशमा नै सेयर बिक्री गर्दा नेपालको सरकारी निकायलाई जानकारी नदिइएको विभागले जनाएको छ । विदेशमा दर्ता भएको कम्पनी भए पनि नेपालको कम्पनीमा गरिएको लगानीको स्वामित्व परिवर्तन गर्दा नाफाको २५ प्रतिशत पुँजीगत लाभकर तिनुपर्ने कानुनी व्यवस्था छ। बोटलर्स नेपाल कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता छ। बोटलर्स नेपालको सेयर स्वामित्व परिवर्तन हुँदा कम्पनी रजिस्ट्रार कार्यालयलाई जानकारी दिनुपर्ने भए पनि दिइएको छैन।

प्रारम्भिक अनुसन्धानमा करिब चार अर्ब रूपैयाँ पुँजीगत लाभकर छली गरेको विभागको अनुमान छ। खरिद–बिक्रीमा भएको नाफामा पुँजीगत लाभकर निर्धारण गरिन्छ। बोटलर्स नेपालको सेयर कारोबार सब्को एसिया दुबईमा भए पनि नेपालको कानुनअनुसार नेपालमा दर्ता भएको कम्पनीमा लगानी गरेर बिक्री गरेकाले पुँजीगत लाभकर तिर्नुपर्ने विभागको भनाई छ ।

२०७१ सालमा कोकाकोला साउथ वेस्टलाई सेयर बिक्री गरेको भए पनि ६ वर्षपछि मात्र नेपालको सरकारी निकायले सूचना पाएर अनुसन्धान अघि बढाएको हो। स्वामित्व परिवर्तन भएको स्वीकार गरेकाले थप छानबिन अघि बढाउने महानिर्देशक मैनालीले बताए।

प्रतिक्रिया दिनुहोस्