विराटनगर, ९ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच आइतबार प्रदेशसभामा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको हो ।
मख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहले गत १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर, ओली समूहले नेकपा राजनीतिक रुपमा फुटेपनि कानूनीरुपमा नफुटेको भन्दै वैधानिकताबारे प्रश्न गर्दै आएको थियो ।
आइतबार बैठकअघि मुख्यमन्त्री राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराएका थिए । तर, सभामुख प्रदीपकुमार भण्डारीले बैठक राखेपछि मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ ।
अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् । मुख्यमन्त्री राई नेकपा ओली समूहका केन्द्रीय सदस्य हुन् । उनी प्रधानमन्त्री ओलीको प्रिय व्यक्ति समेत हुन् ।