कर्णाली । ‘ढुङ्गा खोज्दा देवता मिल्यो’ भने झैँ खत्याड गाउँपालिका–१० मुगु निवासी २९ वर्षीया निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जुर्यो ।
सुत्केरी व्यथाले च्यापेपछि तीन दिनअघि हवाईजहाजबाट नेपालगञ्ज जान उनी बाजुराको कोल्टी विमानस्थल पुगेकी थिइन् । खत्याडबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्न सडक यातायातको सुविधा नभएकाले चँदारा कोल्टी पुग्नुको विकल्प थिएन ।
नेपालगञ्ज उड्नका लागि विमानस्थलमा पुगेकी उनलाई हवाईजहाज चढ्न त्यहाँका कर्मचारीले चिकित्सकको सिफारिस अनिवार्य चाहिने बताए ।
पीडा सहन गर्दै उनी कोल्टी विमानस्थल नजीक रहेको बूढीनन्दा नगरपालिकाको प्राथमिक उपचार केन्द्र पुगिन । र, त्यहाँको चिकित्सकसँग नेपालगञ्ज जानका लागि सिफारिस दिन अनुरोध गरिन्।
संयोगवशः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एनेस्थेसिया विशेषज्ञ डा अर्जुनप्रसाद तिवारीको नेतृत्वमा बालरोग विशेषज्ञ डा नम्रता सिन्दान र स्त्रीरोग विशेष अनुभव प्राप्त डा दिलसाही रोकाको टोली केन्द्रमै पुगेको थियो । सिफारिस लिन आएकी चँदारालाई देख्नेबित्तिकै चिकित्सक टोलीले परिचयसहित उनको समस्याबारे जानकारी लियो ।
चिकित्सक टोलीले सिफारिस लिन आएकी चँदाराको प्रारम्भिक अवस्था बुझ्नाका साथै केही बेरसम्मको संवादपछि उनलाई त्यही प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन सकिने बतायो ।
सिफारिस लिएर जतिसक्दो छिटो नेपालगञ्जको फ्लाइट भेटाउने ध्याउन्नमा रहेकी चँदारालाई भने केही शङ्का र अलि अप्ठ्यारो लागिरहेको थियो । तरपनि उनलाई विश्वस्त बनाउन चिकित्सक टोली सफल भयो ।
‘केन्द्रमा उहाँलाई त्यतिबेला नै जाँचपड्ताल गर्यौँ । बच्चा (ट्रान्सभर्स) उल्टो अवस्थामा रहेछ’, डा तिवारीले भने, ‘आमा र बच्चा दुबैको ज्यान खतरामा भएकाले चँदारा र उहाँको आफन्तलाई राजी बनाएर तत्काल हामी शल्यक्रिया गर्ने निधोमा पुग्यौँ । साधनस्रोतको अभावमा उपचार केन्द्रमा शल्यक्रिया गर्न भने निकै चुनौतीपूर्ण थियो ।’
उनले अगाडि भने, ‘स्थानीय साधनस्रोत र केही आफूले बोकेको उपकरणको सहयोगबाट सिजेरियन सेक्शन (सिएस) गर्यौँ । शल्यक्रिया सफल भयो । सुत्केरी गराउँदा (बर्थ एस्फाजिया) अर्थात् बच्चाले आफ्नो दिसा आफैँले खाएको थियो । त्यसको सबै व्यवस्थापन गरियो ।’
अहिले भने बच्चा र आमाको अवस्था सामान्य रहेको एनेस्थेसिया डा तिवारीले राससलाई जानकारी दिए । उनका अनुसार प्रतिष्ठान जुम्लाको डा टोलीका सदस्यका साथै बूढीनन्दा नगरपालिकाको प्राथमिक उपचार केन्द्रमा कार्यरत स्टाफ नर्स मुना देवकोटा, अनमी त्रय चन्दाकुमारी दानी, दाना जोशी र मनिषा रसाइलीसहितका स्वास्थ्यकर्मीको अथक प्रयासबाट आमा र बच्चा दुवैको ज्यान जोगाउन सकिएको हो ।
बूढीनन्दा नगरपालिका कोल्टी बाजुराको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा राजुराज जैसीले कोल्टीमा गरिएको शल्यक्रिया शाखामा पहिलोपटक शल्यक्रिया भएको राससलाई जानकारी दिए ।
‘यसअघिका सबै जटिल खालका बिरामी हामीले नेपालगञ्ज नै सिफारिस गर्ने गथ्र्यौँ,’ मेडिकल अधिकृत डा जैसीले भने, ‘यतिबेला प्रतिष्ठान जुम्लाको चिकित्सक टोलीले ठूलो सहयोग गरेको छ ।’
यस ऐतिहासिक सफलतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ठूलो हात रहेको बताउँदै उनले यो संयोगले मातृशिशुको ज्यान मात्र नभएर लाखौँको खर्च पनि जोगिएको बताए ।