एजेन्सी – दाम्पत्य सम्बन्धमा जोडिनुको अर्थ यो होइन कि श्रीमान–श्रीमती सधै एकसाथ रहोस् । महत्वपूर्ण कुरा त के भने उनीहरुको सम्बन्ध कति मिठासपूर्ण छ । सम्बन्ध जोड्न जति सजिलो हुन्छ, उत्तिनै कठिन हुन्छ यसलाई कुशलतापूर्वक निर्वाह गर्न ।
श्रीमान र श्रीमतीले आफ्नै छुटै परिवारको रचना गर्छन् । घर परिवारप्रतिको जिम्मेवारी, उत्तरदायित्व वहन गर्छन् । घर–व्यवहार कसरी चलाउने, पारिवारिक मूल्यलाई कसरी बचाउने भन्ने कुरामा उनीहरु सधै जागरुक र सर्तक हुन्छन् ।
यद्यपि कपितय कुराले श्रीमान र श्रीमतीबीच असमझदारी पैदा गर्छ । उनीहरुबीच विश्वासको वातावरण कमजोर हुँदै जान्छ । एकअर्काको सहयोग र भरोसा कमी हुँदै जान्छ । अन्ततः दाम्पत्य कलह सुरु हुन्छ ।
रसरंगको कमी
अहिलेका धेरैजसो कामकाजी दम्पती छन् । उनीहरु आ–आफ्ना क्षेत्रमा काम गर्छन् । पारिवारिक व्ययभार बढेकाले पनि उनीहरुलाई आयआर्जनको काममा लाग्नुपर्ने अवस्था छ । यस्तो पृष्टभूमीमा दम्पतीले एकअर्कासँग रमाइलो गर्ने, ख्यालठट्टा गर्ने, अन्तरंग कुराकानी गर्ने समय पाइरहेका हुँदैनन् वा त्यस्ता कुरामा ध्यान दिइरहेका हुँदैनन् । यसले गर्दा उनीहरुले आपसमा भावना साझेदार गर्न पाउँदैनन् । एकअर्काको रुची र भावना बुझ्न पाउदैनन् । नतिजा, उनीहरुको भावनात्मक सम्बन्ध कमजोर हुँदै जान्छ ।
पूर्णताको खोजी
अक्सर श्रीमान वा श्रीमतीले आफ्ना पार्टनर सबैकुरामा परिपूर्ण भएको हेर्न चाहन्छन् । अझ कतिपयले त आफ्नो सोच अनुसार नै आफ्नो पार्टनर पनि पूर्ण हुनुपर्छ भन्ने ठान्छन् । तर, सबै मान्छे सबै कुरामा पोख्त वा पूर्ण हुँदैनन् । मान्छेको कुनै न कुनै कमी कमजोरी हुन्छ । जब हामी कसैमा पूर्णता खोज्छौं, समस्या त्यहीँबाट सुरु हुन्छ ।
कुनैपनि श्रीमान वा श्रीमतीले आफ्ना पार्टनर हरेक कुराले परिपूर्ण होस् भन्ने चाहन्छन् भने उनीहरुको त्यस्तो अपेक्षाले सधै दुःखी तुल्याउँछ । अन्ततः यसले उनीहरुको सम्बन्ध क्रमस कमजोर हुन थाल्छ ।
संवादको कमी
श्रीमान र श्रीमती आ–आफ्नै कामधन्दामा व्यस्त हुन्छन् । उनीहरु एकअर्कासँग भलाकुसारी गर्न पाउँदैनन् वा त्यस्तो अनुकुलता मिलाउँदैनन् । यदि यस्तो प्रवृत्ति छ भने यसले समस्या ल्याउँछ ।
घर परिवारको स्थिती के छ, आर्थिक व्यवस्थापन कसरी हुँदैछ, बालबच्चाको अवस्था के छ आदि कुराबारे श्रीमान र श्रीमतीबीच संवाद हुनुपर्छ । त्यती मात्र होइन, नितान्त उनीहरु स्वयम्को रुची, इच्छा, आकंक्षाबारे पनि कुराकानी हुनुपर्छ । यसले गर्दा दुबैले एकअर्काको भावना बुझ्न पाउँछन् । पारिवारिक अवस्थाबार जान्न पाउँछन् । जब संवादको कमी हुन्छ, उनीहरुको दुरी बढ्दै जान्छ ।
अति निगरानी उचित हुन्न
आफ्नो सम्बन्धमा थोरै स्पेश पनि दिनुपर्छ । एकअर्कालाई धेरै नियन्त्रण गर्ने, निगरानी गर्ने बानी पनि राम्रो होइन । आ–आफ्नो सौख, रुची अनुसार केही गर्न दुबैलाई छुट हुनुपर्छ । श्रीमान वा श्रीमतीले आ–आफ्नै ढंगले निजी समय पनि व्यतित गर्न पाउनुपर्छ ।
बदल्ने प्रयास
हरेक मान्छेको आ आफ्नै सोंच, चिन्तन हुन्छ । उनीहरुको स्वभाव एवं प्रवृत्ति फरक हुन्छ । कार्यक्षमता फरक हुन्छ । तर, कतिपयको सोंच के हुन्छ भने पार्टनर पनि आफु जस्तो भइदियोस् । आफ्नो रुची नै सर्वोपरी हो र यसमा पार्टनरले पनि साथ दिनुपर्छ । आफुले गरेको कुरा नै सही र यसमा पार्टनरले पनि समर्थन जनाउनुपर्छ । आफुले गरेको काम नै पूर्ण हो र यसमा पार्टनरले पनि साथ दिनुपर्छ भन्ने मान्यता गलत हो । आफु जस्तै बनाउने प्रयासले दम्पतीबीच फाटो ल्याउँछ ।