Logo
Logo

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : सत्ता समीकरणबारे छलफल गर्ने समय आएको छैन


दृष्टि संवाददाता

693
Shares

काठमाडौं । नेपाली कांग्रेसले सत्ता समीकरणबारे अहिले छलफल गर्ने अवस्था नै नआएको निष्कर्ष निकालेको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले नेकपाको अवको अवस्था हेरेर अगाडि बढ्ने निर्णय गरेको हो ।

प्रमुख विपक्षी कांग्रेसले केपी ओली नेतृत्वको सरकार परिवर्तन गर्ने वा निरन्तरता दिने भन्ने विषय सत्तारुढ नेकपाकै हातमा रहेको भन्दै अहिले कुनै निष्कर्ष निकाल्नु हतारो हुने समीक्षा गरेको छ । नेकपाको अबको यात्रा, संसद् बैठकपछिको परिस्थिति आदि हेरेर मात्रै कांग्रेसले निर्णय लिने समेत निष्कर्ष बैठकको छ ।

‘कम्युनिस्ट पार्टी कसरी अगाडि बढ्छ? अहिलेसम्म एकै छ, संसदीय दलको नेता ओली जी नै हुनुहुन्छ। यो अवस्थामा भोलि उहाँहरुको पार्टी एकै रहन्छ अथवा अर्को परिस्थिति आउँछ भन्ने कुरा कांग्रेसको नियन्त्रणको कुरा होइन’, बैठकपछि कांग्रेस सह महामन्त्री प्रकाशरण महतले भने, ‘अहिले यो सत्ता समीकरणको विषयमा कांग्रेसले यसो गर्छ, उसो गर्छ भन्ने विषय आएको छैन। अब संसदको बैठक होस् परिस्थिति कसरी अगाडि बढ्छ त्यो अवस्थामा नेपाली कांग्रेसले आफ्नो निर्णय लिन्छ।’

बैठकको सुरुमै सभापति देउवाले नेकपाका दुवै समूहले कांग्रेससँग सत्ता साझेदारीका लागि प्रस्ताव गरेको जानकारी गराएका थिए । पदाधिकारीहरुले देउवालाई पार्टीको लाइन के हो भन्ने प्रस्ट बनाउन आग्रह गर्दै ओलीसँग सहकार्यको नजिक पुगेको भन्दै आशंका व्यक्त गरेका थिए ।

जवाफमा देउवाले आफूले कुनै पनि समूहलाई बचन दिइनसकेको र नेकपा वैधानिक रुपमा बिभाजन नभएसम्म सहकार्य हुन नसक्ने बताएको जानकारी गराएका थिए । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा विभाजनको स्थिति प्रष्ट भइनसकेको अवस्थामा कांग्रेसले कुनै निर्णय गर्न नहुने बताएका थिए ।

निर्वाचन आयोगले अहिलेसम्म कुनै पनि समूहलाई नाम र चुनाव चिन्ह दिएको छैन । अहिलेसम्म नेकपा एउटै पार्टी रहेको निर्णय सुनाएको आयोगले त्यसपछि परेको प्रचण्ड–नेपाल समूहको निवेदनमा निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्