Logo
Logo

प्रचण्ड–माधव समूहले प्रधानमन्त्री पद पाउँदैनन् : मन्त्री साह


दृष्टि संवाददाता

1.3k
Shares

रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् शहरी विकास मन्त्री प्रभु साहले नेकपा प्रचण्ड–माधव समूहले प्रधानमन्त्रीको पद कुनै पनि हालतमा नपाउने दावी गरेका छन् ।

शुक्रबार पर्साको छिपहरमाई गाउँपालिकाद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका मन्त्री साहले जति षड्यन्त्र र छल गरे पनि प्रचण्ड–माधवको प्रधानमन्त्री बन्ने सपना पूरा नहुने बताए ।

जनताले झण्डै दुईतिहाई बहुमतसहित देशकै ठूलो पार्टी बनाएको भए पनि प्रचण्ड र माधव नेपालले पार्टी ध्वस्त बनाएको मन्त्री साहले आरोप लगाए ।

संसद पुनःस्थापनापछि प्रचण्ड र माधव नेपाल सांसद किनबेच गरेर गणितीय फोहोरी खेलमार्फत् प्रधानमन्त्री बन्ने सपना देखिरहेको मन्त्री साहको आरोप छ ।

‘संसद पुनर्स्थापनापछि प्रचण्ड माधवहरू प्रधानमन्त्री पदको सपना देख्न थालेका छन् । हुन पनि किन नहोस्, यसैको लागि त आफनै पार्टीको सरकार बिरुद्ध अविश्वासको प्रस्ताव ल्याउने र दुई तिहाई कम्युनिष्ट जनमतलाई टुक्राउने काम गरेका थिए,’ मन्त्री साहले भने, ‘तर जति छटपटाए पनि, जति गिडगिडाएपनि माधव प्रचण्डहरूले प्रधानमन्त्री पद पाउन सक्दैनन् । किन कि अरूका लागि खाल्डो खन्नेहरू त्यसमा आफैँ पर्ने गर्छन् । तपाई हेर्न सक्नुहुन्छ आज उहाँहरूलाई कसैले विश्वास गरिरहेको छैन ।’

मन्त्री साह विघटन र पार्टीभित्र विवाद हुँदा सुरुमा प्रचण्ड–माधव समूहमा थिए भने त्यसपछि ओली समूहमा आएका थिए । त्यसलगत्तै उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्