एजेन्सी । म्यानमारमा प्रहरीले आइतबार सैनिक शासनविरूद्ध प्रदर्शन गरिरहेका नागरिकमाथि दमन गरेको छ । आइतबार प्रहरीले चलाएको गोली लागेर कम्तिमा दुई जनाको मृत्यु भएको र अरू दर्जनौं घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
यंगुनका विभिन्न स्थानमा अश्रु ग्यास प्रहार गर्दा पनि भीड तितरबितर नभएपछि प्रहरीले गोली चलाएको थियो । मृतकको संख्या अझै बढ्न सक्ने समाचारहरूमा जनाइएको छ । फेब्रुअरी १ मा भएको सैनिक कूको विरोधमा काम छोडेका चिकित्सकहरू आन्दोलनकारी घाइते भएपछि उनीहरूको उपचार गर्न इमरजेन्सी वार्डमा गएका छन् ।
प्रहरीले देशका अन्य भागमा पनि आन्दोलन दबाउन गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यसअघि नै प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।