Logo
Logo

महाशिवरात्रिदेखि पशुपतिनाथ मन्दिर बिहानदेखि बेलुकीसम्म खुल्ने


दृष्टि संवाददाता

693
Shares


काठमाडौं । पशुपतिनाथ मन्दिर महाशिवरात्रिदेखि दर्शनार्थीका लागि बिहान ६ बजेदेखि बेलुकीसम्म खुला गरिने भएको छ । पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खुल्दै आएको मन्दिर महा शिवरात्री देखि बेलुकासम्मै खुला हुने भएकोहो ।

गत वर्ष चैत ११ गते कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरेपछि नौ महिनासम्म मन्दिर दर्शनार्थीका लागि पूर्णरुपमा बन्द गरिएको थियो । महाशिवरात्रिदेखि पशुपतिका चारै ढोका खोल्ने व्यवस्था गरिने भएको छ ।

गत वर्ष चैत ११ गते अघिसम्म मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला गरिन्थ्यो । दिउँसो पशुपतिनाथलाई भोग लगाएपछि भने बेलुकी ५ बजेसम्म मूल मन्दिर बन्द गर्ने परम्परा छ । महाशिवरात्रिदेखि यही परम्परा अनुसार गर्ने गरी तयारी शुरु भएको कोषले जनाएको छ ।

महाशिवरात्रिको तयारीका लागि सुरक्षा निकायसँग कोषले छलफल गरिरहेको जनाएको छ । यस वर्ष कोरोनाको जोखिम कायमै रहेकाले महाशिवरात्रिमा पशुपति क्षेत्र आउने भक्तजनका लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ ।

भौतिक दूरी कायम गराउन असहज हुने देखिएपनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले भक्तजनसँग आह्वान गरेको सदस्य सचिव डा प्रदीप ढकालले बताए । महाशिवरात्रिका दिन भक्तजनलाई विगत वर्षहरूमा जस्तै चार स्थानबाट लाइन लगाएर सहज रुपमा दर्शनको व्यवस्था गराइने छ । मूल मन्दिरभित्र भने भौतिक दूरी कायम गराइने उनले बताए ।

विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा पशुपति क्षेत्रका विभिन्न स्थानमा स्वास्थ्य शिविर स्थापनाको तयारी भएको छ । गुठी संस्थानसँगको सहकार्यमा महाशिवरात्रिमा पुशपति आउने साधुसन्तलाई खाने, बस्ने, धुनी जगाउनेलगायत व्यवस्थापन पनि गरिँदैछ । दर्शनार्थीलाई सहज रुपमा चन्दन बाँड्ने व्यवस्था गरिनेछ ।

महाशिवरात्रिदेखि रसिद काटेर गरिने विशेष पूजा पनि शुरु गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । कोरोना महामारीका कारण विशेष पूजा गत वर्ष चैतदेखि नै बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्