Logo
Logo

हिंसामुक्त समाज बनाउन बालबालिकाको व्यक्तित्व विकासमा ध्यान दिउँ : राष्ट्रपति


दृष्टि संवाददाता

252
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष ध्यान दिनु आवश्यक रहेको बताएकी छन् ।

राष्ट्रपति भवन, महाराजगञ्जमा आइतबार आयोजित छलफल कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘सबैका लागि शिक्षा’को अवधारणा कार्यान्वयन गर्दै शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानीअनुरुपको प्रतिफल हासिल गर्नुपर्ने बताएकी हुन् ।

‘विद्यालय तहमा अध्ययन गर्ने बालबालिकाको व्यक्तित्व विकासमा विद्यालय, शिक्षक र अभिभावकको सबैभन्दा ठूलो भूमिका हुन्छ। सम्पूर्ण समाज यसको महत्वपूर्ण सरोकारवाला पक्ष हो।

तसर्थ, विद्यालय र सामाजिक संगठनहरूले बालबालिकाको चरित्र निर्माणमा योगदान गर्नुपर्दछ भने सरकारका सम्बन्धित निकायहरूले यस प्रक्रियाको नेतृत्व र सहजीकरण गर्नुपर्दछ’, राष्ट्रपतिले भनिन् ।

नेपालमा शिक्षाको विस्तार गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न तथा शैक्षिक पूर्वाधार विकास गर्नका लागि नीतिगत, कानुनी तथा कार्यक्रमगत रूपमा पर्याप्त व्यवस्था रहेको चर्चा गर्दै यी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा सम्बद्ध सबै पक्षले ध्यान दिन सके चाँडै प्रतिफल हासिल गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छलफल कार्यक्रममा प्राप्त भएका सुझावलाई सरकारको कार्यक्रममा समावेश गरी यथाशीघ्र कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।

सामुदायिक र संस्थागत विद्यालयका आधारभूत संरचनामा समयानुकुल सुधार गरी शिक्षालाई जीवनोपयोगी बनाउन सरकार क्रियाशील रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्