धनुषा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने दाबी गरेका छन् ।
प्रचण्ड–नेपाल निकट प्रेस संगठन नेपालले जनकपुरमा आइतबार आयोजना गरेको प्रदेश २ स्तरीय भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले ‘सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई प्रतिनिधिसभाले तह लगाउने’ जिकिर गरेका हुन् ।
‘यदि प्रतिनिधिसभाले संविधानतः संविधानमाथि गलत हस्तक्षेप गर्ने, प्रतिमगनतिर जाने, असंवैधानिक कदम चाल्ने, मुलुकलाई एउटा राजनीतिक अस्थिरतातिर धकेल्ने, तीन करोड नेपाली जनताको भाग्य र भविष्यमाथि बन्चरो प्रहार गर्ने त्यस्ता एक जना व्यक्तिगत महत्वकांक्षाका व्यक्ति, सन्की निर्णय गर्ने प्रधानमन्त्रीलाई तह लगाउन सकेन भने त्यो प्रतिनिधिसभाले आफ्नो मृत्यु पत्रमा सही गर्छ,’ उनले भने ।
सर्वोच्चले सरकारको निर्णय बदर गरिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिनुपर्ने उनको भनाई छ। तर, ओली लज्जास्पद रुपमा पदमा बसिरहेको उनले बताए ।
उनले आफूहरु भएको पार्टी एकता पक्षमा भएको तर ओली विभाजनको पक्षमा रहेको दाबी समेत गरे ।