काठमाडौं । प्रहरीले एक न्यायाधीशकी पत्नीको स्कुटरबाट ब्राउन सुगर बरामद गरेको छ । उच्च अदालत, सुर्खेतका न्यायाधीश मदन पोखरेल पत्नीको स्कुटरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको हो ।
लागूऔषध बरामद भएसँगै ४२ वर्षीया तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट नियन्त्रणमा लिएको छ । पक्राउ परेकी तुलसा न्यायाधीशकी कान्छी श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । तुलसा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला सदस्यसमेत हुन् ।
प्रहरीका अनुसार तुलसीपुर बजारमा रहेको न्यायाधीशको घर अगाडि पार्किङ गरी राखेको उनको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकीमा ब्राउन सुगर बरामद भएको हो ।
दाङका डीएसपी मुकुन्द रिजालका अनुसार २.२२ ग्राम ब्राउन सुगर बरामद भएपछि उनलाई पक्राउ गरिएको हो । उनले भने, ‘हाल उहाँलाई इलाका प्रहरी कार्यालय, तुलसीपुरमा राखिएको छ ।’
तर तुलसाले भने लागूऔषध आफूले नराखेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ । यस घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।