एजेन्स । नाइजेरियामा शुक्रबार एक आवासीय विद्यालयबाट अपहरणमा परेका सबै विद्यार्थीहरू अपहरणमुक्त भएका नाइजेरियाको प्रशासनले बताएको छ ।
जाम्फारा राज्यका गभर्नर बेल्लो मातावालीले भने, ‘सरकारले राज्यको याङ्गेवी शहरमा रहेको एक आवासीय विद्यालयबाट शुक्रबार अपहरणमा परेका सबै विद्यार्थीलाई स्थानीय समय अनुसार मङ्गलबार बिहानै सकुशल अपहरणमुक्त गराई विद्यालयमा फर्काएको छ ।’
विद्यार्थीहरूको रिहाईका लागि खट्ने सुरक्षा प्रशासन, सरकारी तथा गैर सरकारी अधिकारी तथा स्थानीय बासिन्दाप्रति सरकारले कृतज्ञता प्रकट गर्न चाहन्छ ।
गभर्नरका अनुसार अपहरित २७९ विद्याथीलार्ई अपहरणकारीको नियन्त्रणबाट मुक्त गरी विद्यालय फिर्ता गरिएको छ । छिट्टै उनीहरूलाई आ–आफ्ना अविभावकको जिम्मा लगाइने उनले बताए ।
यस अघि नाइजेरियाली सञ्चारमाध्यमले दिएको जानकारीमा ३१७ जना सशस्त्र समूहको अपहरणमा परेको स्थानीय अधिकारीहरूलाई उद्धृत गरी जनाएका थिए ।
गभर्नरले उनीहरूको रिहाईका लागि कुनै फिरौती नतिरिएको बताएका छन् ।