Logo
Logo

आगलागी पीडितलाई एकद्वार प्रणालीमार्फत राहत दिइने


दृष्टि संवाददाता

504
Shares

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारका आगलागी पीडित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउने निर्णय गरिएको छ । मेरिङदेन गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठकले सबै क्षेत्रबाट उपलब्ध राहत एकद्वार प्रणालीमार्फत उपलब्ध गराउने निर्णय गरेको हो ।

मङ्गलबार आगलागी भई क्षति पुगेका घर परिवारलाई आर्थिक सहायता प्रदान गर्ने राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, दातृ निकाय र व्यक्तिले गाउँपालिका विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

यता जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले समेत एकद्वार प्रणालीमार्फत राहत उपलब्ध गराउने निर्णय गरेको छ । राहत उपलब्ध गराउने व्यक्ति तथा सङ्घसंस्थाले गाउँपालिकामार्फत राहत उपलब्ध गराउनुपर्ने निर्णय गरिएको हो ।

यसैबीच जिल्ला विपद् व्यवस्थापन कोषबाट पाँचसम्मको परिवार सङ्ख्या भएकालाई नगद रु १५ हजार र सोभन्दा बढी सङ्ख्या भएका परिवारलाई रु २० हजारका दरले आर्थिक सहायता प्रदान गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार पूर्ण घर क्षति भएका ३३ र कोठा भाडामा बस्ने २७ परिवारलाई बराबरको आर्थिक सहायता प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्