काठमाडौं । सरकार र विप्लव समुहबीच विहिबार भएको तीन बुँदे सहमतिपछि आज नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुँदैछन् ।
सहमति जुटेपछि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज २ बर्षपछि सार्वजनिक हुने भएका छन् ।
आज सार्वजनिक हुने कार्यक्रममा सहमित अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार जारी गरेको प्रेस नोटमा सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन उल्लेख छ ।
केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद निर्णयले विप्लव समूहलाई प्रतिबन्ध गर्ने निर्णय गरेको थियो । सरकारले बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरिसकेको छ ।
सहमति अनुसार ‘विप्लव’ समूहका नेता–कार्यकर्तालाई शुक्रबारसम्म हिरासतबाट रिहा गर्न गृहमन्त्रालयले निर्देशन पनि दिईसकेको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा म्याद थप गरिएका विप्लव समूहका १८ जना कार्यकर्ता प्रहरीको हिरासतमा रहेको बताइएको छ ।