काठमाडौं । सरकार र नेत्र विक्रम चन्द (विप्लव) समुहबीच हिजो (विहिबार) भएको तीन बुँदे सहमतिपछि विप्लव आज सार्वजनिक भएका छन् । प्रतिबन्ध फुकुवा भएसँगै नेकपा पार्टीका महासचिव (विप्लव) अहिले नवलपरासीबाट सडकमार्ग हुँदैै काठमाडौ आउने क्रममा छन् ।
काठमाडौँ आएर विप्लव सोझै बालुवाटार जाने भएका छन् । बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँगको कुराकानीपछि मात्रै राष्ट्रिय सभा गृहमा हुने समारोहमा सहभागी हुने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार र सरकारी वार्ता टोलीका सदस्यसमेत रहेका राजन भट्टराईले जानकारी दिए ।
‘उहाँ अहिले काठमाडौँ आउदै हुनुहुन्छ । काठमाडौ आएपछि सोझै बालुवाटार आउनुहुन्छ । केहीबेर प्रधानमन्त्रीसँग छलफल गरेर राष्ट्रिय सभा गृह जानुहुनेछ’ उनले भने,। केही विषयमा छलफल र कुराकानी गर्नुपर्ने भएकाले पहिला बालुवाटारमा भेटवार्ता राखिएको उनको भनाई छ ।
विप्लव समूह सरकारसँगको वार्तामा सहमति जुटेपछि शान्तिपूर्ण राजनीतिमा आउन लागेको हो । शुक्रबारै राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्दैछन् । त्यसअघि बालुवाटारमा प्रधानमन्त्रीसँग विप्लवले राजनीतिक विषयमा छलफल गर्ने बताइएको छ ।
यो पनि पढ्नुस्
वार्तापछि विप्लवको पहिलो फोटो सार्वजनिक, प्रहरी स्कर्टिङमा काठमाडौं आउँदै