नेपाल दुई विशाल मुलुकका बीचमा छ । तीनतिर भारत र उत्तरपट्टि चीन । हाम्रा लागि दुवै छिमेकी गाई गङ्गा बराबर हुन् ।
तर, व्यवहारमा केही असमानता छन् र त्यसमध्ये एक हो– भारतमा खुल्ला आवतजावत गर्न पाइन्छ भने चीन जान पासपोर्टर भिसा चाहिन्छ । हामीले चीनको स्वशासित क्षेत्र तिब्बत जान पाइला अघिसारी सक्दासमेत भिसा भने हाम्रो हात लागिसकेको थिएन ।
तर, अति आत्मविश्वासका साथ हामीले यात्रा आरम्भ ग¥यौँ । नागढुङ्गा, नौबीसे हुँदै अघि बढेको हाम्रो बस महादेवबेसी कटिसकेको थियो । तैपनि हाम्रो पासपोर्ट र पेपर भिसा लिएर आउँछन् भनिएका राजुजी आइपुेगका थिएनन् । अफिस टाइम सुरु भएपछि काठमाडौास्थित चाइनिज एम्बेसीबाट कागजपत्र लिएर राजुजी मोटरबाइकमा हामीलाई फलो गर्दै आउनेवाला थिए ।
त्यसैबीच एक यात्रीलाई लघुशङ्काले सताएछ छ । ड्राइभरले गाडी साइड लगायो । हामीपछिको अर्को गाडी पनि हाम्रै छेउमा रोकिन भ्याइसकेछ । त्यहाँ एउटा मात्र ट्वाइलेट रहेछ । ५६ जनाको समूह भएकाले ट्वाइलेटका लागि लाइन निकै लामो थियो ।
झन्डै एक घण्टापछि ट्वाइलेटले फुर्सद पायो । ड्राइभर, हेल्पर र नेपाली टोलीका सदस्य र केही यात्रीहरूले चिया बिस्कुट खान भ्याइसकेका थिए । मैले त्यहीबीचमा बाला र विमलजीसँगै लिएको सेल्फीसहित ‘वे टु होली माउन्ट कैलाश एन्ड मानसरोवर, तिब्बत’ लेखेर फेसबुकमा पोस्ट गरिदिएँ । तर राजुजी अझै आइपुगेका थिएनन् ।
गल्छीबाट हाम्रो बस पृथ्वी राजमार्गलाई छोडेर त्रिशूलीको शिरतिर अघि बढ्योे । गल्छी–रसुवागढी मार्ग स्तरोन्नति भइरहेकाले गाडीले हामीलाई उफार्न थाल्यो । झन्डै दुई किलोमिटर अगाडि बढेपछि राजुजीले हामीलाई भेट्टाए । पासपोर्ट र पेपर भिसा दिएर उनी फर्के । प्रत्येकलाई आ–आफ्नो पासपोर्ट बाँढ्नेक्रममा एउटा पासपोर्ट मिस भएछ । संयोगले त्यो मेरै पासपोर्ट थियो ।
अलि अगाडि बाटो अवरुद्ध रहेछ । गाडी जाममा थियो । तर, विमलजी र पाँच पटक सगरमाथा आरोहण गरिसकेका गाइड पेम्बाजी धुइँधुइँती मेरो पासपोर्ट खोज्न थाले । मैले पनि प्रत्येक सिटमुनि चिहाएँ । आधा घण्टा बित्दासमेत पासपोर्ट भेटिएन ।
सहयात्री नारायणजीले कलङ्की नआइपुग्दै भनेका थिए, ‘हामी यहाँ जो छौँ, अब यात्राभर परिवार हौँ र सबै हाम्रा सामान साझा हुन् ।’ तर, कहाँ साझा हुँदारहेछन् र सबै सामान ? पासपोर्ट त मेरो पो हराएको थियो । उनीहरू त म गए पनि नगए पनि कैलाश जाँदै थिए ।
ल्हासासँग मोहनी थियो तर बोलाई डोल्मालाले
म कति उत्साहित थिएँ कैलाश कोरा गर्न ! काठमाडौँमा अघिल्लो दिन (जुलाई ११) देखि नै झरी परिरहेको थियो । तैपनि म म्हैपीबाट झरी झैँ झरेर बिहानै ठमेलस्थित होटल पुगेको थिएँ ।
लबीमा झोलाहरूको सानातिनो पहाडजस्तो थुप्रो थियो । हतारमा ब्रेकफास्ट खाइरहेका तामिल मुलका मलेहरू टन्नै थिए । एकाध भारतीय मुलका अस्टे«लियन, सिङ्गापुरियन र क्यानेडियन पनि थिए । एउटा विशेष तयारी चल्दै गरेको ठाउँ थियो त्यो । उनीहरूका काला अनुहारमा तिब्बतको हिउँजस्तै चम्किलो उत्साह र उज्यालो प्रस्ट देखिन्थ्यो । गफिँदा बेलाबेला उनीहरू हाँस्थे । हाँस्दा उनीहरूको दाँत मजाले टल्किएको म अझै सम्झन्छु ।
विमलजीले टुर लिडर बालासँग मेरो परिचय गराएका थिए, ‘ही इज अ जर्नालिस्ट, टुर–ट्रेकिङ गाइड एन्ड लाङटाङ गुडविल एम्बेस्डर । एज आई सेड यु यस्टर्डे, ही इज अल्सो ज्वाइनिङ अस इन आउर होल कैलाश ट्रिप ।’
कालो अनुहारको दाह्रीवाल बालाले सेता दाँत देखाउँदै मलाई अँगालो हाल्यो ।
उसलाई सबैले अन्ना भन्दारहेछन् । विमलजीले पनि पटक पटक उनलाई अन्ना बाला भनेर सम्बोधन गरिरहेको सुनेपछि उसको पूरा नाम नै अन्ना बाला रहेछ भन्ने ठानेँ । तर केही छिनपछि नै थाहा पाएँ, तामिल शब्द ‘अन्ना’को अर्थ दाइ रहेछ । उसलाई ऊभन्दा ठ्याक्कै डबल उमेरका यात्रीहरूले पनि अन्ना भन्दै थिए । कैलाश यात्राको हकमा ऊ अन्ना नै थियो । उसको यो तेह्रौँ कैलाश यात्रा रहेछ ।
विभिन्न देशका कैलाशप्रेमीलाई सङ्कलन गरेर नेपाल हुँदै कैलाश जानु एक प्रकारले भन्ने हो भने उसको प्रेम पेसासँगै आदत नै भइसकेको रहेछ ।
सबैले अन्ना भन्ने बालाको पनि महाअन्ना त विमलजी पो रहेछन् । यसअधि नै उनी पचास पटक कैलाश पुगिसकेका रहेछन् । मिस्टर कैलाशभन्दा पनि फरक नपर्ने विमलजीसँग कैलाश जानु मेरा लागि सौभाग्य थियो । उनलाई कैलाश र तिब्बतबारे धेरै सोध्नेछु र उनले पनि धेरै नै भन्ने छन् भन्ने सोच्दै अलि अगाडि सञ्चयकोष बिल्डिङ छेउमा स्ट्यान्डबाई दुई ठूला टुरिस्ट बसबाट हामीले कैलाश काराको प्रारम्भ गरेका थियौं ।
‘नेपालको पर्यटनमा तिब्बतको कैलाश र मानसरोवरले राम्ररी सोधभर्ना गरेको छ’, ड्राइभरछेउको सिटमा सँगै बसेका विमलजीले भने, ‘जति बेला टुरिजमका हिसाबले नेपालमा अफ सिजन सुरु हुन्छ, त्यति बेला तिब्बत बोर्डर खुल्छ । त्यसैले तिब्बतलाई नेपाली टुरिजमसँग जति जोड्न सक्छौँ, हामीलाई उति फाइदा छ । कैलाश जानेहरू ठुल्ठुलो समूहमा आउँछन् । त्यसैले तिब्बत सिजनमा काठमाडौंका होटलले सन्तोषको सास फेरिरहेका छन् ।’
‘ऊँ नम शिवाय’को सामूहिक ध्वनिले म पुलकित भएको थिएँ । सबले फेरि पनि उही ध्वनि दाहोर्याए । त्यसपछि बालाले कैलाश महिमा कहँदै अनेक उमेर समूहका यात्रीहरूलाई उत्साह भर्न थाल्यो, ‘जो कैलाश जानेछ, उसले सिद्धि पाउनेछ । हो, यात्रा सहज छैन तर शिवको शक्ति र भक्तिले हामी सकुशल त्यहाँ पुग्नेछौं । शिवले हामीलाई कैलाशमा कुरिरहेका छन् । मानसरोवरको जलले हामीलाई कुरिरहेको छ । हामी कैलाश–मानसरोवर पुग्न सक्षम छौँ । हामी पवित्र मनले त्यहाँ जाँदैछौँ । हामीबिना विघ्न त्यहाँ पुग्नेछौँ । मानसरोवरमा स्नान गर्नेछौँ । हामी कैलाशको महापवित्र कोरा सहजै सम्पन्न गर्नेछौं । ऊँ नम शिवाय ।’
बालाले बोलेपछि सबै यात्रीले एकैसाथ दोहोराए, ‘ऊँ नम शिवाय । ऊँ नम शिवाय । ऊँ नम शिवाय ।’
एक छिन सबै शान्त भए । हाइवेमा गाडी गुडिरहेको थियो । मैले यात्रीहरूसँग थोरै इन्टरयाक्सन गर्न चाहेको विमलजीलाई बताएँ । विमलजीले बालालाई भने । बालाले सहर्ष स्वागत ग¥यो ।
अघिल्लो सिटबाट म प्यासेजमा गएँ । उभिएर डन्डी समाउँदै गर्दा गाडी घ्याच्च रोकियो । म हुत्तिएर बर्नरमा पुगेर लडेँ । टाउको ठोक्कियो तर धन्न केही भएन । मेरो इन्ट्री पूरै साउथ इन्डियन मुभीको हिरोको जस्तो भएको थियो ।
त्यसपछि मैले पूरै टुरिस्ट गाइड शैलीमा भनेको थिएँ, ‘वी आर गोइङ टु तिब्बत बट आई एम गोइङ टु टेल यु समथिङ एबाउट नेपाल नट एज अ गाइड बट एज ए यात्री फ्रम नेपाल ।’
‘नेपाल विश्व शिर सगरमाथाको देश हो । तर, हामीसँग विश्वका दशमध्ये आठ अग्ला हिमाल छन् । त्यसैले यो विश्वशिरको मात्र होइन, विश्वशिरहरूको देश हो । समुद्री सतहबाट ६० मिटरदेखि सुरु भएर हामी ८ हजार ८ सय ४८ मिटरसम्म अग्लिएका छौं । तलदेखि माथिसम्म फैलिएको प्रकृति र संस्कृतिको यो सुन्दर देश बुद्धको पनि देश हो । तर यो देश मलाई प्रिय हुनुको खास कारण के हो भने यो मेरो देश हो’, मैले भनेँ ।
सुरुमा मैले मेरो नाम र नामको अर्थबाट कुरा सुरु गरेकोे थिएँ, ‘मेरो नाम अशोक हो । हामीकहाँ अभिभावकले सन्तानलाई सकेसम्म राम्रो नाम दिने गर्छन् । ताकि भविष्यमा तिनले आफ्नो नामको अर्थ र मूल्यलाई पछ्याऊन् । मलाई पनि त्यसैगरी यो नाम मेरा अभिभावकले दिएका हुन् सक्छन् । मसँग मेरो नामको तीनवटा अर्थ छ । पहिलो, नेपाली भाषामा यदि कुनै शब्दको अगाडि ‘अ’ टाँसिदिएमा त्यसले नेगेटिभ अर्थ दिन्छ । जस्तो कारणको अगाडि ‘अ’ टाँसिदिए त्यो अकारण हुन्छ । कारणको उल्टो अकारण । त्यसैगरी मरो नाममा दुईटा साउन्ड छ । ‘अ’ र ‘शोक’ । ‘अ’ को मतलब नगेटिभ र शोकको ‘मतलब’ स्याड्नेस । त्यसैले अशोकको अर्थ ‘नो स्याड, अल्वेज ह्याप्पी ।’ दोस्रो, वृक्षको नाम पनि हो अशोक । वृक्ष भनेको प्रकृतिको प्रतीक हो । त्यसैले अशोकको अर्थ प्रकृति । तेस्रो, कुनै बेला अशोक नामका एक महान भारतीय सम्राट थिए, जसले सुरुमा निकै हिंसा गरे । तर कलिङ युद्धमा पराजयपश्चात उनले हिंसा छाडे र शान्तिको मार्गमा आए । बुद्ध भक्त बने । त्यसैले अशोकको अर्को अर्थ हो ‘लिभिङ भाइलेन्स, लभिङ पिस ।’
मैले नेपालका अरू थुप्रै रोचक सन्दर्भबारे पनि बताएँ र अन्तिममा एउटा प्रश्न गरेर भनाइ टुङ्ग्याएको थिएँ, ‘मेरो नाम के हो रे ?’
सबैले करतल ध्वनिसहित भने, ‘अशोक ।’
एकै पटक सबैले एउटै शब्द उच्चारण गर्दा त्यो कोरस ध्वनि विशेष खालको सुनिँदोरहेछ । जे होस् यात्राको कास्टिङ रोचक पाराले भएको थियो । तर अहिले स्थिति भिन्न भएको छ । सामान्य रूपमा सबै र विशेषगरी विमलजी र म खिन्न भएका छौं ।
मेरो पासपोर्ट हराउँदा विमलजीको अनुहार निचोरेको निबुवाजस्तो भएको छ । विचरा ! उनी मेरा लागि दुःखी भएका छन् । त्यो उनको अनुहारले बताइरहेको थियो । उनको अनुहार हेरेर मलाई निकै नरमाइलो लाग्यो ।
म त पासपोर्ट भेटिएन भने अरू कुनै पटक जाउँला भन्ने मनस्थितिमा पुगिसेकेको थिएँ । ‘कैलाश त बरु फेरि जाउँला, केही छैन । यदि पासपोर्ट साँच्चिकै भेटिएन भने पासपोर्ट हराएको सूचना पत्रिकामा छपाउनुपर्छ । प्रहरी रिपोर्ट पनि बनाउनुपर्छ क्यारे । त्यति मात्रले पुग्दैन, अरू पनि थुप्रै प्रकृया पार गर्नुपर्छ’, त्यो झन्झटको सम्झनाले मात्र पनि बेचैन भएँ । धत् !
मलाई अघि होटलबाट गरेको फेसबुक पोस्टले पनि त्यस्तै तनाव दियो । पोस्ट भएको एक घन्टा पनि बित्दा नबित्दै झन्डै २ सय लाइक र ५० कमेन्ट आइसकेका थिए ।
सोचेँ, ‘जेसुकै होस् । स्याफ्रुबेसीसम्म सँगै जान्छु । त्यसपछि अरू सबै तिब्बततिर जाऊन् । मचाहिँ लाङटाङ जान्छु । केही दिन त्यतै बस्छु । लाङटाङपासँग भलाकुसारी गर्छु । कैलाशयात्रीहरू तिब्बतबाट फर्किँदा म पनि लाङटाङबाट फर्केर स्याफ्रुबँेसीमा उनीहरूलाई भेटेरसँगै काठमाडौं फर्किन्छु । यात्रीहरूले खिचेको कैलाश यात्राका फोटोहरूसहित व्याक टु काठमाडौँ भनेर फेसबुकमा पोस्ट गर्छु ।’
मलाई लाङटाङ मेरो आफ्नो लाग्छ । त्यसैले होला, पासपोर्ट हराएर भेटिने सम्भावना कम हुँदै जाँदा मनमा लाङटाङ आयो । लाङटाङ जानेबारे सोच्दा मात्र पनि अर्कै खालको आनन्द आयो ।
पासपोर्ट र पेपर भिसालगायत अन्य डकुमेन्ट छाडेर गल्छी हुँदै काठमाडौँ फर्किदै गरेका राजुलाई विमलजीले फोन गरे । बाटोतिर झ-यो कि भनेर खोज्न गाडी जाम परेको ठाउँबाट पेम्बाजी झन्डै दुई किलोमिटर परको गल्छीतिर दौड्दै फर्के । मेरो पासपोर्टका लागि दौडिएको पेम्बाजीसँग म पनि पछिपछि दौडिरहेको थिएँ ।
गर्मी निकै उखरमाउलो थियो । घाम उत्तिकै चर्को । दौडँदै गर्दा शरीर आफै बलिरहेको हिटरजस्तो भइरहेको थियो । हिलो त्यत्तिकै । भेटिने आशमा होइन तैपनि हामी दौडिरहेका थियौं ।
विमलजीको कल आयो । पासपोर्ट भेटिएछ ।
गाडीको हेल्पर भाइले पेम्बाजी बसेको पछिल्लो सिटको कुनाको कापमा पासपोर्ट भेटाएको खुशीयालीमा सबैले ताली बजाए रे । यात्रीहरूले मेरो पासपोर्ट भेटियोस् भनेर शिवसँग ‘प्रे’ पनि गरेका थिए रे ।
हामी फेरि त्यसरी नै दौडेर फक्र्यौं । धन्न ! जाम अझ खुलेको रहेनछ ।
विमलजीको अनुहार अघिको जस्तो थिएन । उनको उज्यालो अनुहारमा मैले मेरो खुशी भेटें ।
गाडीबाहिर हातमा पासपोर्ट लिएर बाला, विमलजी, हेल्पर भाइसँगै अश्विनीजी पनि उभिएका रहेछन् ।
छेउमा त्रिशूली नदी ‘उर्मिला’ भएर बगिरहेकी थिई ।
नदीको एक छेऊमा रोपाइँजस्तो जात्रा चलिरहेको थियो । नदीबाट हतारहतार बालुवा झिकिरहेका महिला र पुरुषको ताँती–जात्रा थियो त्यो । त्यस्ता जात्रा अरू थुप्रै पटक थुप्रा ठाउँहरूमा देख्यौँ हामीले ।
कुनै बेला परराष्ट्र मन्त्रालयसम्बद्ध अश्विनीजीलाई पासपोर्ट घटनाबारे केही बोलिदिन मैले आग्रह गरेँ । अनौपचारिक प्रसङ्गमा औपचारिक ढङ्गले उनले केही बोलेको नारायणजी भिडियो खिचिरहेका थिए ।
‘कैलाश इज कलिङ यु । सो एनी हाउ यु आर गोइङ दियर’, बालाले पनि त्यसमा थप्यो ।
मलाई उसको कुरा गलत लागेन । मनमनै भने, ‘हो, मलाई कैलाशले बोलाइरहेको छ ।’
नुवाकोटको बट्टार पुग्दा दिनको ३ बजिसकेको थियो । होटलमा भात खाएर अगाडि बढ्दै गर्दा भैंसेमा ५ वटा डोजरहरू धमाधम पहाड काट्दै थिए । त्यहाँ केही बेर गाडीहरू रोकिए । भीडबीच एउटी गोरी आई । ऊ त उही जेनिफर रहिछ । जेनिफर जो लाङटाङ र लाङटाङको सुखदुःखसँग जोडिएकी अमेरिकन हो । जेनिफरले अस्टिन पनि त्यही भएको बताई । अस्टिन पनि लाङटाङसँग अन्योन्याश्रित छ । अस्टिनसँग पुरानो भर्चुअल चिनजान भए पनि त्यो हाम्रो पहिलो भेट थियो । उनीहरू दुई साताका लागि लाङटाङ जाँदै रहेछन् ।
अस्टिनले मसँग फोटो खिच्ने प्रस्ताव ग¥यो । मलाई बीचमा राखेर अस्टिन र जेनिफरले दुई छेउबाट अँगालो हाले । मैले पनि दुवैतिर हात फिजाइदिएँ । विमलजीले अस्टिनको मोबाइलबाट हाम्रो फोटो खिचिदिए ।
फोटोमा अस्टिन र म त छँदै थियौं । पद्मिनी जेनिफर पनि थिई । पद्मिनी भन्नाले कमलकी फूलजस्ती । चित्रिणी त्योभन्दा अलि कमकी । त्यसपछि शंखिनी र अन्तिममा हस्तिनी । पद्मिनी, चित्रिणी, शंखिनी र हस्तिनीको कोकशास्त्रीय कथा केही बेरअघि मात्र ढुङ्गेको उकालोमा सहयात्री नारायणजीले सुनाएका थिए ।
त्यसपछि गाडीको फ्रन्ट ग्लासबाट सडकछेउमा देखिने केटीहरूमध्ये कतिलाई हामीले पद्मिनी भन्यौं । कतिलाई चित्रिणी, कतिलाई शंखिनी, कतिलाई हस्तिनी भन्यौं । कतिलाई पद्मिनी र चित्रिणीको योग भन्यौं । कतिलाई चित्रिणी र शंखिनीको योग भन्यौं । कतिलाई शंखिनी र हस्तिनीको योग भन्यौं । कतिलाई त डबल पद्मिनी पनि भन्यौं । डबल पद्मिनीहरू त अहिले पनि आँखैमा छन् ।
कालिकास्थान छोड्दासम्म अँध्यारो सुरु भइसकेको थिएन । धुन्चेस्थित आर्मी चेकपोस्ट पुग्नुअघि नै गाडीले लाइट बाल्दा पाँच मिटर अगाडि पनि सडक देखिएन । अँध्यारोको कालोले छोपेको सडक थिएन त्यो । त्यो त चञ्चल मायालुजस्ती पहाडतिर दौडने कुहिरोले छोपेको सडक थियो । कुहिरो केही छिनमा हट्छ भनेर हामीले गाडी रोक्यौं । त्यही मौकामा लघुशङ्काका लागि पुरुष जति गाडीको अगाडि लागे भने महिला जति पछाडि । मैले कुहिरोबीच उभिएर चुरोट सल्काएँ ।
एक छिनमा कुहिरो हट्यो । तर त्यति बेला अँध्यारो निकै गाढा भइसकेको थियो ।
स्याफ्रुबेंसी पुग्दा रातको नौ बजिसकेको थियो । यात्राले थाकेको शरीरमा दुई जना मिलेर एक क्वाटर रस्लान भोड्का रित्याएपछि खाएको तातो भातको स्वाद ‘थाउजेन्ड डलर’को थियो ।