काठमाडौँ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले आइतबार दिएको फैसलाको कानूनी उपचार खोज्ने बताएका छन् । सर्वोच्चले नेकपाबारे गरेको निर्णयप्रति गम्भीरतासाथ लिएको बताउँदै नेता श्रेष्ठले कानूनी उपचार खोज्ने बताएका हुन् ।
पेरिसडाँडामा प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले नेकपा नामका लागि आफूहरूले दिएको रिट निवेदनभन्दा बाहिर गएर सर्वोच्चले फैसला गरेको र यसलाई राजनीतिक विषय बनाएको प्रति उनले असन्तुष्टि व्यक्त गरे।
’रिट निवेदकभन्दा, मागदाबीभन्दा बाहिर गएर पार्टी विभाजन गर्ने फैसला सर्वोच्चले सुनायो। यसप्रति हाम्रो गम्भीर ध्यानकर्षण भएको छ। हाम्रो गम्भीर असहमति छ,’ उनले भने ।
यस्तै, उनले उक्त समूहको स्थायी समिति वैठक अन्तिम हुन सक्ने बताएका छन् । नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि त्यसलाई कार्यान्वयन गरिने निर्णय भएको जानकारी दिए ।
‘हामीले जे उद्देश्य राखेर एकता गरेका थियौं, त्यो सही थियो भन्ने समिक्षा भएको छ,’ श्रेष्ठले भने, ‘अब पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई एउटै केन्द्रमा ल्याउने पहललाई जारी राख्नेछौं ।’ उनले भने ।