Logo
Logo

अवैध धन्दामा पूर्वसांसद


दृष्टि संवाददाता

6.4k
Shares

काठमाडौं । लकडाउन गरेपछि धेरैको आर्थिक अवस्थामा उतारचढाव आएको छ । जसले गर्दा पैसा कमाउन अवैध बाटो छान्ने प्रवृत्ति देखिएको छ ।

सर्वसाधारण मात्र होइन, ठूला व्यवसायी समेत अवैध धन्दामा लागेको पाइएको छ । पूर्व सभासद् रविन्द्र साहले अहिले पैसा कमाउने अवैध क्यासिनो सञ्चालन गरिरहेको खुलेको छ । गत २० फागुनमा महानगरीय प्रहरी वृत्त कालिमाटीले साहले ताहाचलमा सञ्चालन गरेको प्लाटिनियम होटलमा छापा हानी ६ जुवाडे र चार कर्मचारीलाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो । होटलमा क्यासिनोकै शैलीमा उनले अवैध रुपमा जुवा खेलाउँदै आएका थिए । तर, उनलाई भने जोगाउन प्रहरीले चलखेल गरिरहेको छ ।

प्रहरीले अवैध क्यासिनोका म्यानेजर महेश मल्ल, सहायक मेनेजर कमलदेव चौधरी तथा कामदारहरु अजय यादब र सचिन वाग्लेलाई पक्राउ गरेको थियो । जुवाडेहरू रंजित कुमार जैसवाल, सोहन प्रसाद, मुमताज मियाँ, शेख मुर्तुजा, राजकुमार सिंह, टिन्कु प्रसान पनि थुनामै छन् । होटलमा क्वाइन मात्र होइन पैसा गन्ने मेसिन समेत राखेर जुवाघर सञ्चालन गरिएको थियो । चेक नगद र क्वाइन गरेर प्रहरीले २२ लाख ९६ हजार रुपैयाँ बरामद गरेको थियो ।

उपत्यकाका पाँच तारे होटलले मात्र क्यासिनो सञ्चालन गर्न अनुमति पाउँछन् । लकडाउनपछि क्यासिनो सञ्चालन पनि हुन पाएका छैनन् । जसकारण पूर्व सांसद साहले भूमिगत रुपमा क्यासिनो चलाएका हुन् । उनकै निर्देशनमा क्यासिनो चलाएको प्रष्ट भएपनि उनलाई जोगाउन आर्थिक चलखेल भइरहेको छ । जुवाडेलाई छिटो छाड्नेदेखि उनीहरुलाई सम्पत्ति शुद्धीकरणमा नपठाउन प्रहरीको उच्च तहमै समेत डिल भइरहेको स्रोत बताउँछ ।

यस्ता ठूला जुवाडेहरुले अवैध रुपमा पैसा कमाउने भएकाले सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुने गर्दछ । गत वर्ष महाराजगञ्जमा पक्राउ परेका जुवाडेलाई पनि विभागमा पठाइएको थियो । सोही आधारमा बलराम सापकोटालाई मुद्दा समेत चलिसकेको छ । अन्य केहीमाथि छानबिन जारी छ ।

प्रतिक्रिया दिनुहोस्