Logo
Logo
दृष्टिकोण

‘एउटा माघले जाडो जाँदैन’


शम्भु श्रेष्ठ

14.5k
Shares

जननेता मदन भण्डारीले भन्नुहुन्थ्यो- ‘एउटा माघले जाडो जाँदैन ।’ खुलामञ्चमा उहाँको भाषण सुन्नेहरुले मदन भण्डारीले यो के भनेका होलान् भनेर सोच्थे । भर्खर बहुदलीय व्यवस्था पुनःस्थापना भएको थियो । कृष्णप्रसाद भट्टराई अन्तरिम प्रधानमन्त्री थिए । भट्टराईकै कार्यकालमा नयाँ संविधान बन्यो ।

२०४८ सालको निर्वाचनमा भट्टराईलाई भण्डारीले चुनाव हराए । त्यस निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्यायो । २०५ जना सांसदमध्ये नेपाली कांग्रेसले ११४ सिट जित्यो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । नेकपा माले प्रमुख प्रतिपक्ष बन्यो । नेकपा मालेले ७० सिट जित्यो ।

कोइरालालाई ‘कम्युनिष्ट’ शब्द नै मन पर्दैनथ्यो । कोइरालाको शब्दकोषमा कम्युनिष्ट भनेको माले, मण्डले एकै हुन् भन्ने थियो । कोइरालाले पार्टीभित्र र बाहिर आफूलाई जे मन लाग्यो त्यही गर्न थाले ।

कतिपय कांग्रेसले कोइराला भनेको नै कांग्रेस, कांग्रेस भनेको नै कोइराला भनेर भन्न थाले । कोइराला शासनमा कम्युनिष्टहरुमाथि व्यापक दमन भयो । बहुमतको मातमा त्यतिबेला शेरबहादुर देउवा गृहमन्त्री थिए ।

कोइराला र देउवा मिलेर कम्युनिष्टहरुको आन्दोलन दबाउन गोलीसमेत चल्यो । कलिला नाबालकहरु पनि गोलीको शिकार भए । त्यो आन्दोलन मदन भण्डारीको नेतृत्वमा टनकपुर सन्धिको विरुद्ध केन्द्रित थियो । जसलाई सर्वोच्च कमाण्डर गणेशमान सिंहले नैतिक समर्थन जनाएका थिए ।

आफ्नै पार्टीभित्र राष्ट्रघाती सन्धि गरेको अभियोग कोइरालामाथि लाग्यो । कांग्रेसभित्र गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई एकातिर गिरिजाप्रसाद कोइराला अर्कोतिर फर्कने अवस्था आयो । पार्टीभित्रको आन्तरिक कलह र प्रमुख प्रतिपक्ष दलको चर्को विरोधका कारण सरकार कमजोर बन्दै गयो । त्यतिबेला मदन भण्डारीले कोइराला प्रवृत्तिलाई इंगित गर्दै ‘एउटा माघले जाडो जाँदैन’ भनेर भाषण गरे ।

ओलीलाई विदेशी शक्तिले प्रयोग गरेर दुईतिहाइको शक्तिशाली सरकारलाई मात्र खरानी बनाएनन्, दुई कम्युनिष्ट पार्टीको एकता पनि भंग गरिदिए । पुस ५ गते संसद् विघटन गरेर एउटा माघ त ओलीले कटाए, फेरि अर्को माघ आउँछ भन्ने उनले बिर्सिए ।

बुझ्नेलाई यो कुरा गहिरो थियो । अन्ततः पाँच वर्षका लागि बहुमत प्राप्त सरकार गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा ढाले, संसद् भंग भयो । मध्यावधि निर्वाचनमा कांग्रेस हार्यो । पहिलोपटक कम्युनिष्ट पार्टीको सरकार बन्यो । जसको नेतृत्व मनमोहन अधिकारीले गर्नुभएको थियो । मदन भण्डारीले भनेझैँ गिरिजाप्रसाद कोइरालाले पुनः सत्तामा फर्कन धेरैवटा माघ कुर्नुपर्यो ।

नेपालको राजनीतिक इतिहासमा २०७४ सालको निर्वाचनमा नेपाली जनताले एमाले र माओवादी केन्द्रलाई दुईतिहाइ बहुमत दिए । दुई ठूला कम्युनिष्ट पार्टी इतिहासमै पहिलोपटक संयुक्त घोषणापत्रका आधारमा चुनाव लडे ।

जनताका बीचमा जाँदा यी दुई पार्टीका नेताहरुले पार्टी एकता गर्नेसम्मको प्रतिबद्धता जनाए । र, फेरि एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि एउटा माघ आयो र उनी दोस्रोपटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समर्थनमा प्रधानमन्त्री बने ।

जब ओली प्रधानमन्त्री भए तब उनले माओवादीसँग पार्टी एकता गर्दा गरेको सहमति भुले । ‘एउटा माघले जाडो जाँदैन’ भन्ने कुरा उनले बिर्सिए र पुस ५ गते गिरिजाप्रसाद कोइरालाले जस्तै आफ्नो बहुमत भएको संसद् विघटन गरे ।

यी दुई पात्र फरक भए पनि प्रवृत्ति उस्तै देखियो । झट्ट हेर्दा मानिसहरुले ओलीको हठका कारण संसद् विघटन भयो भने तापनि यसभित्र कम्युनिष्ट पार्टीलाई तहसनहस पार्ने खतरनाक षड्यन्त्र लुकेकोछ ।

ओलीलाई विदेशी शक्तिले प्रयोग गरेर दुईतिहाइको शक्तिशाली सरकारलाई मात्र खरानी बनाएनन्, दुई कम्युनिष्ट पार्टीको एकता पनि भंग गरिदिए । अब एमाले सिध्याउने खेलमा ओली लागेका छन् । यो घटनाले नेपालको राजनीतिलाई सधैँ अस्थिरतातर्फ धकेल्ने खतरा बढेको छ ।

त्यो अस्थिरताको भुँमरीले राष्ट्रिय स्वाधीनता नै खतरामा नपर्ला भन्न सकिन्न । किनभने, सार्वभौम संसद्ले अनुमोदन गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले विभाजित गरिदियो । यो ख्यालठट्टाको कुरा होइन, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा हो ।

जसको प्रस्थानविन्दु पुस ५ हुँदै फागुन ११ गतेसम्म आइपुगेको छ । नेपालको राजनीति यहाँसम्म आइपुग्दा अब अर्को माघ ओलीले देख्न पाउने छैनन् । पुस ५ गते संसद् विघटन गरेर एउटा माघ त ओलीले कटाए, फेरि अर्को माघ आउँछ भन्ने उनले बिर्सिए ।

मदन भण्डारीले भन्ने गर्नुभएको अर्को चर्चित भाषण के हो भने, ‘मानिसले खुट्टाको नापअनुसार जुत्ता काट्नुपर्छ, न कि जुत्ताको नाप अनुसार खुट्टा ।’ अहिले प्रधानमन्त्री ओलीले ठिक यसको विपरीत जुत्ताको नापअनुसार खुट्टा काट्ने काम गरेका छन् ।

माओवादीसँग मिलेर निर्वाचन लड्दा १७४ सिट आएको थियो । र, दुईतिहाइ बहुमतको प्रधानमन्त्री बनेका थिए, अब जुत्ताअनुसार खुट्टा काट्दा प्रधानमन्त्री ओलीको पक्षमा सामान्य बहुमत पनि पुग्दैन । जम्मा १२१ सिट छ । उल्टो बाटोमा हिँडेर गन्तव्यमा पुगिँदैन भनेको यही हो । त्यसैले मदन भण्डारी भन्नुहुन्थ्यो– ‘अगाडिको बाटो हिँड्दा कति टाढा आइपुगेछु भनेर अन्दाज गर्न पछाडि फर्केर बाटोको सिंहावलोकन पनि गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्