हुम्ला । हुम्लाको उत्तरी नाका खुल्न समय लाग्ने भएको छ । हिमपातका कारण बाटो बन्द हुँदा जिल्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित लिमी गाउँमा पाँच महिना आवतजावत रोकिने भएको छ ।
लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा त्यहाँ पुग्ने अर्को कुनै विकल्प नभएको त्यहाँका वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । केही दिनअगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार ६०० मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको हो । यी दुवै बाटो अब आगामी जेठमा मात्रै खुल्नेछन् । पाँच महिनाका लागि बाटो बन्द भएपछि लिमीका स्थानीयवासी थुनिएका छन् ।
दुवै नाकामा चारदेखि पाँच फिटसम्म हिउँ जम्ने गरेको छ । त्यहाँ जडान गरिएको नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा बादल लाग्दा र हिमपात हुँदा बन्द हुन्छ । अहिले लिमी सञ्चार सम्पर्कविहीन भएको छ । बेलाबेला आउजाउ भइरहने वल्र्डलिङ्कको इन्टरनेट सेवा भने सम्पर्कको माध्यम भएको हल्जी गाउँका स्थानीयवासीले बताएका छन् ।
बाटो बन्द भएपछि बिरामी तथा अत्यावश्यक काम पर्दा त्यहाँका स्थानीयवासीलाई हेलिकोप्टर रिजर्भ गर्नुको अन्य विकल्प छैन । हिमपातपछि बाटो बन्द हुने भएका कारण छ महिनाका लागि दैनिक उपभोग्य सामानदेखि अन्य आवश्यक बन्दोबस्तीका सामान त्यहाँका स्थानीयवासीले तयारी अवस्थामा राख्छन् तर यो वर्ष कोरोनाका कारणले दैनिक उपभोग्य वस्तुको जोहो निकै कम भएको बताइएको छ ।
गएको मङ्सिरमा खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीबाट अनुदानको ७०० क्विन्टल खाद्यान्न लिमी पुगेको थियो । लिमी उपत्यकाका साथै हिल्सा नाका पनि हिमपातपछि बन्द भएको छ ।