पाकिस्तान बन्यो समूह उपविजेता, बंगलादेश बाहिरियो
२३ भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो ।
खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राख्यो । खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई सुरुवाति अग्रता दिलाए ।
विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षक मोहम्मद सहिदुल आलमको हातमै परेको थियो तर, उनले रोक्न सकेनन् ।
बंगलादेशी गोलकिपरको त्यही गल्ती टनिङ प्वाइन्ट बन्यो । एक गोलले अगाडि रहेपछि नेपाली खेलाडीहरूले खुलेर खेले र दोस्रो हाफमा पिवक्षीमाथि दबाव बनाइराखे।
५४औं मिनेटमा कप्तान भरत खवासको प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे भने निराजन खड्काले प्रहार बारमाथिबाट बाहिरियो ।
६० मिनेटको खेल सकिएपछि नेपालले खेलाडी परिर्वतन गर्यो । ६२औं मिनेटमा निराजन खड्काको स्थानमा अन्जन विष्ट मैदानमा प्रवेश गरे भने कप्तान भरत खवासको स्थानमा नवयुग श्रेष्ठ ।
घरेलु टोलीको पोष्टमा एकपछि अर्को आक्रमण गरेको नेपाल निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा सफल भयो । स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित गरे ।
जितसँगै समूह एमा रहेको नेपालसँगै पाकिस्तान र बंगलादेशको समान ६-६ अंक भएको थियो । तर, भुटानविरुद्ध गरेको ४ गोल नेपालका लागि महत्वपूर्ण बन्यो र गोल अन्तरका समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ ।
पाकिस्तान उपविजेता बन्यो भने घरेलु टोली बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।