काठमाडौँ – चितवन निकुञ्ज घुम्न आउनेको मुख्य सोख हो– हात्ती सफारी । अधिकांश पर्यटक हात्ती चढेर निकुञ्ज आडका मध्यवर्ती सामुदायिक वनमा गैंडा लगायत वन्यजन्तु हेर्न जान्छन् । तर पछिल्लो समय सफारीमा प्रयोग हुने हात्ती घट्न थालेका छन् ।
पर्यटकको संख्या घटेपछि गुपचुपमै हात्ती बेचिन थालेका हुन् । हात्ती बिक्री गर्न नियम कानुनले दिँदैन, तर सुटुक्क भारतसम्म पुर्याइन्छ ।
चैत ५ गते साँझपख बूढी राप्ती खोलाको पुल तरेलगत्तै सौराहा जाने बाटोछेउमा एउटा ट्रक उभियो । कुनै जीव जनावर लैजान ठिक्क परेझैं ट्रक बाटोको अग्लो ढिस्कोभन्दा सिधा तल केही गहिरो भागमा रोकिएको थियो । यसो हुँदा ढिस्कोबाट जनावर ट्रकमा जान सजिलो हुन्छ । झमक्क साँझ परेपछि त्यो ट्रक आडमा एउटा अजंगको हात्ती ल्याइयो । ढिस्कोबाट हात्ती ट्रकमा गयो । राति १० बजेतिर हात्ती बोकेर ट्रक बाटो लाग्यो ।
सफारीका लागि हात्ती सञ्चालन गर्ने युनाइटेड हात्ती सञ्चालक सहकारी लिमिटेडका अध्यक्ष ऋषि तिवारीले लकडाउनपछि संस्थामा रहेकामध्ये १५ वटा हात्ती कम भएको बताए । ‘सहकारीमा समेटिएका हात्ती कुनै बेला ६५ वटासम्म थिए । पछिल्लो वर्ष ५७ वटा थिए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।