काठमाडौं । डँडेलधुराको स्थानीय बजारमा प्रतिकिलो ४० पर्ने जुनारको मूल्य काठमाडौंमा १८० रुपैयाँ रहेको छ । यो मूल्य त्यहाँको स्थानीय बजारको तुलनामा ३५० प्रतिशत बढी हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जुनारको मूल्य आफ्नो दैनिक मूल्यसूचीमा समावेश गरेको छैन । यद्यपि कालीमाटी र बल्खु तरकारी बजारका फलफूल व्यापारीका अनुसार जुनारको हालको बजार मूल्य प्रतिकिलो १८० रुपैयाँ छ ।
एक महीना अघिसम्म प्रतिकिलो १०० रुपैयाँसम्म रहेको जुनारको मूल्य पछिल्लो समय ८० रुपैयाँ बढेको बल्खु तरकारी बजारका फलफूल व्यापारी सञ्जय लामाले बताए ।
उनका अनुसार बल्खु तरकारी बजारमा भारत, चीन लगायत देशबाट जुनार, सुन्तला र मौसम आयात हुने गर्छ । कालीमाटी तरकारी तथा फलफूल बजारमा भारतीय सुन्तला र मौसमको मूल्य प्रतिकिलो २०० रुपैयाँ छ ।
काठमाडौंमा महँगो मूल्यमा विक्री भइरहेको जुनारबाट डँडेलधुराका किसानले उचित लाभ लिन सकेका छैनन् । विदेशबाट ल्याएर महँगो मूल्यमा विक्री गर्न सक्ने फलफूल व्यापारी र सरकारी संयन्त्रकै ध्यान स्वदेशी उत्पादनमाथि पर्न नसकेको गुनासो जुनारको बजारीकरणका लागि सरकारसँग गुहार माग्न डँडेलधुराबाट काठमाडौं आएका किसान अनन्तराम जोशीले गरे ।
राष्ट्रिय सुन्तला जात बाली विकास कार्यक्रमको तथ्यांक अनुसार नेपालमा वार्षिक ४३ हजार मेट्रिकटन जुनार, १ लाख ७७ हजार मेट्रिकटन सुन्तला र ३९ हजार ५८० मेट्रिकटन कागती उत्पादन हुने गर्दछ । ६५ जिल्लामा सुन्तला जातका फलफूल उत्पादन हुने भए पनि व्यावसायिक रूपमा ४४ जिल्लामा मात्र उत्पादन हुने गरेको छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार छ ।