काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमण जोखिम बढेको भन्दै सावधानी नअपनाए लकडाउन नै गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई विहीबार संबोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम बढीरहेकाले सावधानी नअपनाए लकडाउन नै गर्नुपर्ने बताएका हुन् ।
‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु। हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं। तर सावधान नभए बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ। हामीले सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र सबैले हातमुख धुने लगायतका काम गर्नुपर्छ।‘ उनले भने ।
प्रधानमन्त्री ओलीले विगतमा जस्तै कोरोना संक्रमणबाट बच्न व्यवसायीलाई सुझाब दिए । ‘कोरोना नाक र मुखमा धेरै समय रहन्छ। त्यही बेलामा तातो वाफ लिने र नुनपानीले कुल्ला गरे धेरै समस्या पार्दैन्,’ ओलीले भने, ‘अम्बाका दुई वटा पात उमालेर बेस्सरी गारगल ग¥यो भने पनि कोरोनाबाट बच्न सकिन्छ।’
प्रधानमन्त्री ओलीले कोरोना संक्रमण नियन्त्रणमा राख्न हदैसम्मको प्रयास गरेपनि आलोचना हुने गरेको बताए । ‘भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ,’ उनले भने ।
‘निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ, तरपनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ।’