काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि कार्ययोजना बनाउने गृहकार्य सुरु गरेको छ ।
मन्त्रिपरिषदको निर्णय सर्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले कोरोना नियन्त्रण र रोकथामका लागि आवश्यक मापदण्डसहितको कार्यायोजना बनाउन सुरु गरिएको बताएका हुन् ।
पत्रकारले कोरोनाबारे सोधेको प्रश्नको जवाफ दिने क्रममा गुरुङले कार्ययोजना बनिसकेको र गृहकार्य सुरु भएकाले छिट्टै सार्वजनिक गर्ने बताए ।
भारत हुँदै नेपालमा पनि दोस्रो लहरको संक्रमण फैलिन थालेसँगै सरकारले स्पष्ट योजना बनाउन नसकेको भन्दै आलोचना भइरहँदा प्रवक्ता गुरुङले आवश्यक मापदण्ड बन्ने बताएका हुन् ।
जोखिम रोक्न लकडाउन वा अन्य सुरक्षित विधि, मापदण्ड, आचारसंहिता लगायत विषयमा सबैसँग छलफल गरेर टुंगोमा पुगिने समेत उनले बताए ।