बुटवल । प्रदेश १, लुम्बिनीलगायत प्रदेशमा फेरि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ। यससँगै कोरोना विशेष अस्पतालमा संक्रमितहरू भर्ना हुन थालेका छन्।
प्रदेश १ को राजधानी विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा बिहीबार १ र शुक्रबार ५ जना भर्ना भएका छन्। सामान्य बेडमा ४ र आईसीयूमा २ जनाको उपचार भइरहेको छ।
प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको यो अस्पतालमा आएका संक्रमितको उपचार थालिएको सामाजिक विकासमन्त्री उषाकला राईले बताइन्।
‘पहिले पनि प्रदेश १ मा एकैपटक धेरै संक्रमित भेटिएका थिए’, मन्त्री राईले भनिन्, ‘त्यसलाई ध्यानमा राख्दै हामीले उपचारमा खटिने स्वास्थ्यकर्मी र अस्पताललाई तयारी गरेका छौं। अस्पतालमा आएका बिरामीको उपचार पनि भइरहेको छ।’
मन्त्री राईले २४ घण्टा नै सेवा दिन पहिलेभन्दा धेरै सुधारको तयारी भइरहेको बताइन्। ‘पहिलेजस्तो खाने बस्ने र सेवा दिनेमा अब भद्रगोल हुने छैन’, उनले भनिन्, ‘हरेक कुराको सुधार अब अस्पतालमा देख्नुहुनेछ।’
कोभिड १९ निगरानी तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा। रवीन्द्र निरौलाले लक्षणसहितका संक्रमितलाई भर्ना गरेर उपचार सुरु गरिएको बताए। ‘हामीले पूर्णरुपमै अस्पताल सञ्चालनमा ल्याएका छौँ’, संयोजक डा। निरौलाले भने।
प्रदेश सरकारले अस्पतालमा बिरामीअनुसार चिकित्सक र कर्मचारी बढाउँदै लैजाने तयारी गरेको छ। हाल ४ देखी ६ जनासम्म कर्मचारी र चिकित्सक अस्पतालमा खटिने गरेका छन्।
जनस्वाथ्य अधिकृत ओमकुमारी राजवंशीले शुक्रबारसम्म प्रदेश १ मा होम आइसोलेसनमा ९३ जना संक्रमित रहेको जानकारी दिइन्। ‘संक्रमित थपिने क्रममा छ’, राजवंशीले भनिन्, ‘केहीबाहेक सबै होम आइसोलेसनमा बसेका छन्।’, यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकमा छ ।