Logo
Logo

सरकार ढाल्ने पक्षमा कांग्रेस, जसपा अझै अनिर्णित


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलका शीर्ष नेता सम्मिलित बैठकमा आफ्नो पार्टीको नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्दै दुई दलको धारणा मागेका थिए। उक्त प्रस्तावलाई माओवादी केन्द्रका नेताले सकारात्मक भनेका छन्। जसपा नेताले भने पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै समय मागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

‘कांग्रेसको प्रस्तावउपर नेकपा माओवादी केन्द्रबाट सकारात्मक धारणा आएको छ। उहाँहरूले हामी सुरुदेखि नै यसका पक्षमा छौं भन्नुभयो’, कांग्रेस प्रवक्ता शर्माले भने, ‘जनता समाजवादी पार्टीले समय मागेको छ।’

जसपाका नेताले कांग्रेसले पहिलो पटक सरकार गठनबारे औपचारिक प्रस्ताव गरेको भन्दै पार्टीमा छलफल गरेर विधिवत् निर्णयमा पुग्ने जवाफ दिएका हुन्। ‘पहिलो पटक कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्नेबारे औपचारिक प्रस्ताव गरेको छ। हामी अब छलफल गरेर टुंगोमा पुग्छौं’, जसपाका अध्यक्ष महन्थ ठाकुरले भने, ‘नयाँ सरकार गठनबारे हाम्रो पार्टीमा कुनै छलफल भएको छैन। बैठक बसेर विधिवत् निर्णय गर्छौं।’

बैठकमा जसपा नेताहरूले आफ्ना माग सुनाएका थिए। उनीहरूले मधेस आन्दोलनका बेला नेता कार्यकर्तामाथि लगाइएका मुद्दा, जेल परेकाहरूको रिहाई, संविधान संशोधनलगायत माग उठाएका थिए। सरकारले आफ्ना मागको सम्बोधन गर्न काम अगाडि बढाएको जानकारी जसपा नेताहरूले गराएका थिए।

‘हाम्रा मागबारे सरकारले प्रक्रिया अगाडि बढाएको कुरा ग¥यौं। देउवाजीले म पनि गरिहाल्छु नि भन्नुभयो’, जसपा अध्यक्ष ठाकुरले भने, ‘कुनै निष्कर्षमा पुगेका छैनौं। फेरि बैठक बस्छौं।’

जसपाभित्र यो सरकारलाई सहयोग गर्ने कि नयाँ सरकार गठन गर्ने भन्नेमा एकमत छैन। अध्यक्ष ठाकुर, नेता राजेन्द्र महतोलगायत पूर्वराजपा पक्षधर नेता यही सरकारलाई नै समर्थन गर्नुपर्ने पक्षमा छन्। अर्का अध्यक्षद्वय उपेन्द्र यादव र डा। बाबुराम भट्टराई भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गठनबन्धन गर्नुपर्ने अडानमा छन्।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ‘संविधानविरोधी र निरंकुश सरकार’को विकल्प खोज्नुपर्ने पक्षमा सुरुदेखि आफ्नो पार्टी भएकाले देउवाको प्रस्तावलाई सकारात्मक रूपमा लिएको बताए। ‘माओवादीले संविधानको स्पिरिटिविरुद्ध गएको, निरंकुश बनेको ओली सरकारलाई हटाएर संविधान र लोकतन्त्रको रक्षा गर्न चाहने शक्तिको सरकार बनाऔँ भन्दै आएका हौं’, नेता श्रेष्ठले भने, ‘कांग्रेसको प्रस्तावलाई सकारात्मक रूपमा लिएका छौं।’, यो समाचार आजको अन्नपुर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्