काठमाडौं । प्रचण्ड बेला–बेला ‘लभ परेको छ’ भन्छन् । उनको लभ प्रशंग चर्चाको विषय बन्छ । उनको लभ कहिले तराईसँग त, कहिले कुनै जाती वर्गसँग पर्छ !
प्रचण्डले फेरि एकपटक ‘लभ प्रशंग’ सुनाएका छन् । तर, यसपटक लभमात्र होइन ‘डिभोर्स’को पीडा पनि पोखे ! प्रचण्डले भने– ‘अदालतले डिभोर्स गराएपछि रुँदै–रुँदै बस्नुपरेको छ ।’
सुनसान काठमाडौं, शान्त शनिबार । तर, प्रचण्ड उस्तै उग्र र पे्रमिल ! शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलामा प्रचण्डका दुवै रुप देखियो । केपी शर्मा ओलीविरूद्ध उस्तै उग्र रूपमा प्रस्तुत भए । तर, एमालेकै माधवकुमार नेपालप्रति प्रेमिल रूपमा । ओलीविरूद्ध उग्र रूपमा प्रस्तुत भएका प्रचण्डले भनेका थिए– ‘वृहत मोर्चा बनाएर ओलीलाई सिध्याउनुपर्छ ।’
‘ओलीलाई सिध्याउनुपर्छ’ भन्ने प्रचण्डले माधवकुमार नेपाल र झलनाथ खनालहरूसँग माया उस्तै गाढा रहेको भन्दै प्रेमभाव देखाए ।
प्रचण्डले ‘कम्युष्टि एकताको सम्भावना छ’ भन्ने कोणबाट ‘लभ प्रशंग’ दोहोर्याएका हुन् । भनेका थिए– ‘कम्युनिष्ट आन्दोलनको एकता नेपालमा आवश्यक छ । समाजवाद निर्माणका लागि विशाल कम्युनिष्ट समर्थक जनतालाई एकतावद्ध गर्न आवश्यक छ । अप्राकृतिक ढुंगले विभाजित गरिएको पार्टीलाई पुर्नमिलन गराउन जरुरी छ ।’
लभ प्रशंगकै कुरा गरौँ । मावध–झलनाथसँगको लभ प्रचण्डले यसरी स्मरण गरे– ‘२८ गतेको आमसभा देख्नुभयो नि ? म कसरी बोलेँ, माधवजी कसरी बोल्नुभयो ? झलनाथजी कसरी बोल्नुभयो ? लभ नपरेको भए त्यसरी बोलिन्थेन नि त । लभ नपरेको भए यस्तो हुन्थ्यो होला त ?’
ओलीको असंवैधानिक कदमविरूद्ध आयोजना गरिएको सभामा आफू र माधव–झलनाथले एकै स्वरमा ओलीको विरोध गरेको कुरालाई प्रचण्डले लभ परेकै कारण यस्तो बोलियो भन्न खोजेका थिए ।
प्रचण्डले लभ परेको मात्र भनेन् । अदालतले अप्राकृतिक रुपमा ‘डिभोर्स’ गराएको समेत सुनाए । प्रचण्डले भने– ‘बढो लभ परेको श्रीमान श्रीमतीलाई अदालतले जवरजस्ती ‘डिभोर्स’ गरिदिन पाइन्छ ? लभ परिरहेकालाई डिभोर्स गर्नु त प्राकृतिक रुपले पनि अन्याय हो नि त । अहिलेचाहिँ डिभोर्सपछि दुलहा–दुलहीझैँ रुँदै–रुँदै बस्नुपरेको छ । हाम्रो के दोष भयो त्यहाँ ? लभ पर्नु गल्ती भएको हो त ? यो त होइन नि । हामीले लभ गरेर ठिकै गरेका थियौँ ।’
प्रचण्डले नेकपा खारेजीलाई अप्राकृतिक भन्दै आएका थिए । शनिबारको कार्यक्रममा प्रचण्डले किन अप्राकृतिक हो भन्नबारे ‘लभ प्रशंग’लाई नै जोडे । लभ परिरहेकालाई डिभोर्स गराउनु प्राकृतिक रुपले पनि अन्याय हो । त्यसैले नेकपा खारेजीलाई अप्राकृति, अस्वभाविक, अनैतिक र गलत भनेको छु, प्रचण्डले भने ।
उनी फेरि कम्युनिष्ट एकताकै प्रशंगमा फर्के । भने– ‘फेरि पनि भन्छु, कम्युनिष्ट एकता आवश्यक छ । त्यसका लागि हामी सबै लाग्नुपर्छ ।’
प्रचण्डले शनिबारको प्रस्तुतीमार्फत नयाँ सरकार गठन हुँदै पार्टी एकता वा वृहत मोर्चाको समेत संकेत गरे ।
पार्टी एकताका लागि माधवकुमार नेपाल समूहको नेकपा एमाले, मोहन वैद्यलगायतको नाम लिएका थिए भने वृहत मोर्चा हुँदै ओलीविरूद्ध संघर्ष गरेर निर्वाचन जित्नका लागि कांग्रेस र जसपाको नाम लिएका थिए ।
कसरी लभ पर्यो ? कसरी डिभोर्स भयो ? प्रचण्डबाटै सुनौं-