काठमाडौं । काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा पर्व मनाइँदै आएको हो । नेपाली सेनाले उपत्यकामा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको जनाएको छ ।
भाइरसको संक्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको सेनाले जनाएको छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो।
पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको उल्लेख गरिँदै आएको छ ।
साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइने विश्वास छ ।
यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ।नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ ।
आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ। गत वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी जारी गरिएकै दिन घोडेजात्रा परेकाले कार्यक्रम स्थगित गरिएको थियो। यस वर्ष पनि सेनाले थोरैलाई आमन्त्रित गरेर साङ्केतिकरूपमा मात्र जात्राका कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।
किन माइन्छ ?
उपत्यकाका पुराना जात्रामध्ये एक हो, घोडेजाता । प्राचीन कालदेखि नै मनाइँदै आएको यो जात्रा जनविश्वासमा आधारित छ । घोडेजात्राको दिन काठमाडौंको टुँडिखेलमा हजारौँ सर्वसाधारणका बीच नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष परेड, कृत्य र अभ्यास प्रर्दशन गर्छन् । यसपटक पनि सेनाले टुँडिखेलमा अश्वकलाका साथै युद्धकला, मोटरसाइकल खेल, शारीरिक व्यायामलगायत कला प्रदर्शन गर्दै छ ।
घोडेजात्राको दिन बिहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा सुरु भएको जनाउ दिन्छ । त्यसपछि, टुँडिखेलमा घोडा र घोडसवारीका विभिन्न कलाकौशलको प्रदर्शनी सुरु हुन्छ ।
घोडेजात्रासँग पुरानो किंवदन्ती जोडिएको छ । जसअनुसार, परापूर्व कालमा टुँडिखेलको दक्षिण–पूर्वी दिशामा रहेको एउटा रुखमा वास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरु खाइदिने गर्दथ्यो । लगातार यस्तो घटना दोहोरिएपछि उपत्यकावासीले त्यस राक्षसलाई मार्न अनेक उपाय खोज्न थाले । अत्ततः गुरुमापा रक्षसलाई घोडाको टापले कुल्चाएर मारियो ।
अहिले पनि हरेक साल दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने जनविश्वास छ । बुढापाकाका भनाइमा यसो नगरे गुरुमापाको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मच्चाउने डर हुन्छ ।
अर्कोतर्फ, चन्द्रमासअनुसार प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने मान्यता छ । त्यही आधारमा अघिल्लो दिन चैत्र कृष्ण औँसीमा अश्वयात्रा गरेर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ ।
घोडेजात्राका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक वर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडा दौडाउने गर्छ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ । भक्तपुरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ । घोडेजात्रा हेर्न राष्ट्रप्रमुखसहित उच्चपदस्थ अधिकारीहरु, कूटनीतिक नियोगका प्रतिनिधिलगायत व्यक्तित्व टुँडिखेलमा भेला हुने चलन छ ।