Logo
Logo

सुनचाँदी व्यवसायीको हत्या, दुईजना पक्राउ


दृष्टि संवाददाता

819
Shares

सिरहा । सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या भएको छ । प्रहरीका अनुसार लुटपाट गर्न आएको समूहले धाारिलो हतियार र गोलीसमेत प्रहार गरी सुनचाँदी व्यवसायी प्रदीप मिझारको हत्या गरेका हुन् ।

शनिबार राति १ बजेतिर लुटपाट गर्न आएका व्यक्तिले ४५ वर्षीय मिझारको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टाउको, अनुहार र हातमा खुकुरीले प्रहार गरी छातीमा गोलीसमेत प्रहार गर्दा मिझार गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल लहानस्थित सप्तऋषि अस्पतालमा उपचारका लागि लगिए पनि मृत्यु भएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माको भनाई छ । लुटेरा समूहले मृतककी श्रीमती ३५ वर्षीया अनिता कुमारी दुलाललाई समेत दाहिने हातमा खुकुरी प्रहार गरी घाइते बनाएका छन् । उनको पनि सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लहान नगरपालिका वडानम्बर २३ स्थित वडा अध्यक्ष कन्हैयाप्रसाद गुप्ताको घरमा डेरा लिई मिझार दम्पती सुनचाँदी व्यवसायी गर्दै आएका थिए ।

दुई पक्राउ
प्रहरीले घट्नामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता शर्माका अनुसार घटनामा संलग्नमध्येका जिल्ला सिरहा लहान नगरपालिका ७ बस्ने २६ वर्षीय रामकृष्ण चौधरीलाई घटनास्थलबाटै फलामको छिनोसहित पक्राउ गरिएको हो ।

प्रहरी प्रवक्ता शर्माले लहान नगरपालिका २३ गढिया बस्ने २९ वर्षीय सूर्य सहनीलाई बिहान ४ बजेर ३० मिनेटमा पक्राउ गरिएको बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

श्रीमती घाइते
मृतक प्रदीपकी श्रीमती अमृता विश्वकर्मा घाइते भएको छ । उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मध्यराति आएका समूहले विश्वकर्मा दम्पती सुतिरहेको घरको ढोका फुटाएर सामान लुटपाट गर्न खोज्दा प्रतिकार गर्दा सो समूहले विश्वकर्माको गोली हानी हत्या गरेको प्रहरीको भनाई छ ।

मृतककी श्रीमती अमिताले भनिन्, ‘राति करिब १२ बज्दै थियो । ड्याङडुङ गर्दै आएका हतियारधारीहरूले ढोका फोडे । मेरो श्रीमान् रोक्न खोज्दा टाउँकोमा खुकुरी हान्यो । अनि छातीमा दुई गोली मारेपछि मेरो श्रीमान् ढले । म बचाउन जाँदा उनीहरूले हातमा खुकुरी प्रहार गरेर घाइते बनाए ।’

प्रतिक्रिया दिनुहोस्