काठमाडौं । अमेरिकामा अश्वेत युवकलाई गोली हान्ने एक प्रहरी पक्राउ परेका छन् । ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकृत पक्राउ परेकी हुन् ।
समाचार अनुसार मिनिसोटामा भएको यो घटनामा संलग्न प्रहरी अधिकारी किम पोटरलाई पक्राउ गरिएको हो । उनीमाथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाउने तयारी भइरहेको जनाइएको छ ।
सो मुद्दा अनुसार उनी दोषी ठहर भएमा बढीमा १० वर्ष कैद र २० हजार डलरसम्म जरिवाना हुन सक्ने बीबीसीले जनाएको छ ।
ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरी अधिकारीको हातबाट गोली चल्दा २० वर्षीय डन्टे राइटको मृत्यु भएको थियो । उनलाई हत्कडी लगाउन खोज्दा प्रहरीसँग घम्साघम्सी भएको थियो । त्यही क्रममा दुर्घटनाबस गोली चलेको प्रहरीको भनाई छ ।
यो घटनापछि प्रहरी प्रशासनविरुद्ध स्थानीय प्रदर्शनमा उत्रिँदा तनाव भएको थियो । स्थिति नियन्त्रणमा लिन मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यु समे लगाइएको थियो ।