‘सुखानीको रगतले भन्छ हामीलाई,
सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’
४६ वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको शहादतको स्मृतिमा रचना गरिएको यो गीतले क्रान्तिको बाटो नभुल्न सन्देश दिइरहेको छ ।
विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई नै ‘झापा विद्रोह’को रुपमा चिनिन्छ जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो ।
सुस्ताएको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोह दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा ती योद्धालाई गोली हानी हत्या गरेको थियो ।
सोही विद्रोहका जगमा नेकपा (माले) नेकपा (एमाले) एवम् नेकपा (माओवादी) हुँदै आज मुलुकको संसद्मा दुई तिहाई बहुमतप्राप्त राजनीतिक शक्ति नेकपाको जन्म भएको मानिन्छ ।
अझै पनि नेमकिपा, नेकपा (मसाल), नेकपा (माले), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा आदि अन्य वामपन्थी समूह पनि संसद्भित्र र बाहिर क्रियाशील छन् ।
सुखानी उद्यानमा स्मृति दिवस यस वर्ष नेकपाले ४६औँ सुखानी शहीद स्मृति दिवस सुखानी उद्यानमा मनाउने भएको छ ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीसमेत रहेका तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्मृति दिवस मनाउन फागुन २१ गते झापा आउने कार्यक्रम रहेको नेकपाका जिल्ला नेता चिन्तन पाठकले बताए ।
दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्ने सुखानीमा सुखानी शहीद स्मृति प्रतिष्ठान नेपालले नमूना सामुदायिक वन क्षेत्रभित्र पाँच शहीदको पूर्ण कदको शालिक राखेपछि हरेक वर्ष झापा विद्रोहका योद्धालाई सम्झना गर्दै विभिन्न कार्यक्रम हुँदै आएको छ ।
पाँच योद्धाको हत्या गरिएकै स्थानमा अहिले शहीदकै सङ्ख्याका पाँच रुख सँगै जोडिएर हुृर्केका छन् । घटनास्थललाई शहीद स्मारकका नाममा संरक्षण गरिएको नेकपाका नेता नरेश खरेल बताउँछन् ।
आन्दोलनका क्रममा २०२९ साल फागुन २१ गते सुखानी जङ्गलमा हत्या गरिएका पाँच शहीद, झापा आन्दोलनका क्रममा बलिदान दिएका चन्द्र डाँगी र रामप्रसाद प्रधानसहित केही दिनअघि ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र शनिबार राति निधन हुनुभएका भरतमोहन अधिकारीको योगदानको कदर गर्दै सुखानीमा श्रद्धाञ्जलिसभा गरिने नेकपाका नेता मणिकुमार राई साम्पाङले बताए ।
यसअघिका वर्षमा तत्कालीन एमाले र माओवादीले फरक फरक स्थानमा फरक दिन सो दिवस मनाउँदै आएका थिए ।
झापा विद्रोहमा लागेर १८ वर्ष कारागार जीवन बिताएका झापाका नेकपा नेता मनकुमार गौतमका अनुसार पाँचै योद्धाले सुखानीको जङ्गलमा हाँसीहाँसी बलिदान स्वीकारेका थिए ।
‘पञ्चायती शासकहरुसँग आत्मसमर्पण गरेको भए उहाँहरुको ज्यान जोगिन सक्थ्यो होला तर बलिदानी भावनाले ओतप्रोत झापाका क्रान्तिकारीहरुले पञ्चायतसँग झुक्नुभन्दा मृत्युलाई रोजे’, गौतमले भने ।
नेता गौतमलाई पनि साधुको भेषमा भूमिगत राजनीतिमा क्रियाशील भएकै अवस्थामा पञ्चायती शासकले गिरफ्तार गरी १८ वर्षसम्म कारागारमा थुनेका थिए । कारागार सारेको घटनाका प्रत्यक्षदर्शी गौतम पाँच क्रान्तिकारीहरुसँगै कारागारमा थिए ।
‘चन्द्रगढी कारागारको ५ नं. कोठामा पाँच सहिदहरुसँगै हामी १५ जना राजनीतिक बन्दीहरु थुनिएका थियौं’, २०२९ साल फागुन २१ गते बिहान करीब ११ बजेको घटना सम्झिँदै गौतम भन्छन्, ‘उनीहरु पाँच जनालाई मात्र बाहिर निकालियो र पुुलिसको गाडीमा चढाएर इलाम जेलमा सार्ने भनेर लगियो ।’
साथीहरुसँग कसिलो हात मिलाएर बिदा हुनुअघि पाँच जनामध्येका अगुवा दाहालले ‘कमरेडहरु, आज हामी मारिन जाँदैछौंँ, क्रान्तिका निम्ति हामी बलिदान हुन जाँदैछौंँ, अब हाम्रो फेरि भेट हुँदैन, तपाईँ बचेका कमरेडहरुले क्रान्तिको झण्डा निरन्तर उठाइरहनुहोला’ भनेका गौतम सम्झन्छन् ।
हतकडी र खुट्टामा नेल लगाएर चन्द्रगढीबाट शनिश्चरेसम्म गाडी चढाएर लगिएका उहाँहरुलाई त्यहाँबाट पैदलै हिँडाएर झापा र इलामको सिमानामा पर्ने सुखानीको एकान्त जङ्गलमा लहरै उभ्याएर प्रहरीले गोली हानेर हत्या गरेको थियो ।
सुखानीका पाँच क्रान्तिकारीलाई शहादतको ४३ वर्षपछि २०७२ साल फागुन १९ गते प्रधानमन्त्रीमा सहयोद्धा केपी शर्मा ओली हुनु भएका बेला मन्त्रिपरिषद्ले शहीद घोषणा गरेको थियो ।
गरीब योद्धा
पाँचमध्यृे घैलाडुब्बाका दाहाल मात्र मध्यमवर्गीय परिवारका थिए । झापा विद्रोहका बेला विद्यार्थी राजनीतिमा होमिएका झापाका पुराना नेता विष्णु प्रसाईँका अनुसार वर्तमान प्रधानमन्त्री ओलीलाई समेत शिक्षादीक्षाका लागि सघाएका उनी हक्की र सामाजिक रुपमा प्रतिष्ठित थिए ।
बुधबारेका श्रेष्ठ शहीद भएका बेला मात्र १७ वर्षका थिए । उनी पाँच शहीदमध्ये कान्छा र गरीब परिवारका थिए । घिमिरे गरामनी प्राथमिक विद्यालयका शिक्षक र आर्थिक रुपमा विपन्न परिवारका सदस्य थिए ।
गरामनीका कुइँकेल र ज्यामिरगढीका राजवंशीसमेत अत्यन्त गरीब परिवारका थिए । कुइँकेल विद्यार्थी र राजवंशी सरकारी कर्मचारीसमेत थिए ।
समृद्धिको सपना पूरा हुन बाँकी
नेकपा नेता गौतम सुखानीका शहीदहरुले देखेको सुख र समृद्धिको सपना पूरा हुन बाँकी नै रहेको बताउँछन् । उहाँले पञ्चायती निरङ्कुश राजतन्त्र समाप्त गर्ने र एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने शहीदको सपना पूरा भए तापनि आर्थिक सामाजिक रुपान्तरण गर्दै गरीब, श्रमजीवी र उत्पीडित वर्गलाई सुखी र समृद्ध बनाउने सपना अधूरै रहेको बताए ।
नेता गौतम भन्छन्, ‘झापा विद्रोहकै जगमा नेपाली कम्युनिष्ट आन्दोलन एकीकृत भएर आजको अवस्थासम्म आइपुगेको हो, सोही विद्रोहको नेतृत्वकर्ता केपी ओलीले शहीदका अधूरा सपना पूरा गर्ने अभिभारा बोकेर मुलुक हाँकिरहनु भएको छ ।’
विसं २०२८ देखि २०३० सम्म भएको झापा विद्रोहको नेतृत्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओली, नेकपा (माले)का महासचिव सिपी मैनाली र वरिष्ठ राजनीतिज्ञ आरके मैनालीले गरेका थिए ।
मनमोहन अधिकारीको नेतृत्वमा रहेको पूर्व कोशी प्रान्तीय कमिटीबाट विद्रोह गरी २०२८ सालमा आरकेको नेतृत्वमा झापामा सशस्त्र आन्दोलनको घोषणा गरिएको थियो ।
आरके बिरामी भएपछि सोही सालको उत्तराद्र्धतिर ओलीको नेतृत्वमा पार्टी पुनर्गठन गरेर झापा जिल्ला कोअर्डिनेशन कमिटी नेकपा माले गठन गरिएको नेकपा नेत गौतम बताउँछन् ।
झापा विद्रोह उत्कर्षका बेला ओलीले नै नेतृत्व गर्नुभएको जनाउँदै गौतमले २०३० सालमा सिपीको नेतृत्वमा नेकपा माले जिल्ला कमिटी गठन भएको जानकारी दिए ।
१४ वर्षमै भूमिगत खड्का
झापा विद्रोहमा १३ वर्षका उमेरमा घर र विद्यालयको पढाइ छाडेर होमिनु भएकी सीता खड्का (नीलम केसी) १४ वर्षकै उमेरमा दुई वर्षसम्म कारागार परेका थिए ।
खड्का २००६ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको गठन भए पनि मुलुकभर कम्युनिष्ट समूह विभाजन र अवसरवादका कारण सुस्ताएको बेला झापाका युवा क्रान्तिकारीले झापा विद्रोहको साहसिक बाटो रोजेर नयाँ ढङ्गले आन्दोलनलाई जगाएको बताउँछन् ।
‘पञ्चायतको बर्बर शासन थियो, गाउँहरुमा जमिन्दारहरुको शोषण र उत्पीडन सहिनसक्नु अवस्थामा थियो,’ आफू झापा विद्रोहमा लाग्नुको कारण बताउँदै उनी भन्छन्, ‘म सानैदेखि अन्याय नसहने स्वभावकी थिएँ, क्रान्ति शुरु गर्ने नारा र नेताहरुको बलिदानी भावनाले हामीलाई कलिलै उमेरमा भूमिगत राजनीतिमा लाग्न प्रेरित गयो’, पूर्वमन्त्री खड्काले भने ।
‘जनयुद्ध झापा’ विद्रोहकै निरन्तरता’
विसं २०५२ फागुन १ गते जनयुद्ध घोषणा गरी सशस्त्र आन्दोलनमा होमिएको तत्कालीन नेकपा माओवादीले झापा विद्रोहलाई आफ्नो ‘प्रेरणाको स्रोत’ मानेको थियो । झापामा माओवादी विद्रोहको अगुवाइ गरेकी प्रतिनिधिसभा सदस्य एवम् नेकपा नेत्री धर्मशिला चापागाईँले भनिन्, ‘झापा विद्रोहकै जगमा जनयुद्ध भयो र आजको परिस्थिति ल्याउन सकियो ।’
उनका अनृुसार माओवादीले सशस्त्र द्वन्द्वकालमै सुखानीको स्मृतिमा इलामको दानाबारीमा जनसेना फौजको नाम सुखानी स्मृति ब्रिगेड राखेको र ‘सुखानी आवाज’ पत्रिकासमेत प्रकाशन गरेको थियो ।