पहिलो कुरा, पर्यटनमन्त्री रवीन्द्र अधिकारी भएर पनि उहाँले सधैँ निजीक्षेत्रप्रति विश्वास देखाउनुभयो । धेरै मन्त्रीहरूले निजी क्षेत्रलाई संशयको दृष्टिले हर्ने गर्नुहुन्छ । विश्वासभन्दा आशंका गर्नुहुन्छ । निजीक्षेत्रले आफ्नो फाइदाको मात्रै कुरा गर्छ भन्ने मानसिकता बोक्ने गर्नुहुन्छ । तर, उहाँले पर्यटनको विकासमा निजीक्षेत्रलाई ठूलो भरोसाको रूपमा लिनुभएको थियो । निजी क्षेत्रको सहभागिता, सहयोग बिना पर्यटन क्षेत्रको उत्कर्ष सम्भव छैन भन्ने दृढ विकल्प उहाँमा देखिन्थ्यो । त्यसैले सधैँ निजीक्षेत्रसँग निकटको सम्बन्ध कायम गर्नुभयो । हाम्रा कुरा सुन्नुभयो । सहकार्यका लागि आह्वान गरिरहनुभयो ।
दोस्रो कुरा, उहाँ निकै सहज र सरल हुनुहुन्थ्यो । एकपटक हामीले उहाँसँग छलफल गर्न खोज्यौँ । मैले फोन गरेर भेट्ने समय मागेँ । सचिवसँग कुरा गर्नुस् भनेर उहाँ पन्छिनुभएन । बरु, एकैपटक आउनुस् भनेर बोलाउनुभयो । तर, मन्त्रालयमा आउँदा त्यहाँ कार्यकर्ताको भीड हुने भएकाले कुराकानीमा बाधा होला भनेर मैले ‘त्यहाँ कार्यकर्ता आएर कुरा गर्न दिँदैन होला, त्यसैले हाम्रै कुनै ठाउँमा बस्न सकिन्छ कि’ भनेर प्रस्ताव गरेँ । उहाँले सहजै स्वीकार गर्नुभयो र आउनु पनि भयो । मन्त्री भएर पनि हामीले बोलाएको ठाउँमा आएर हाम्रा कुरा सुन्नुभयो । त्यो उहाँको सरलता थियो । जो मान्छेसँग अहम् हुँदैन, त्यसमा सत्यतथ्य बुझेर काम गर्न सक्ने खुबी हुन्छ भन्ने उहाँबाट बुझ्न सकिन्थ्यो । त्यसैले होला सबैले उहाँलाई मन पाराउनुभएको थियो ।
तेस्रो कुरा, उहाँ ‘एक्सन ओरिएन्टेड’ हुनुहुन्थ्यो । चाहे विकास समितिमा हुँदा वा मन्त्री हुँदा उहाँमा त्यो सधैँ देखिन्थ्यो । अरु समितिका काम खासै चर्चामा आउँदैनथे । तर, उहाँले नेतृत्व गर्नुभएको समितिका काम सधैँ चर्चामा रहे । किनभने उहाँ ‘एक्सन ओरिएन्टेड’ हुनुहुन्थ्यो । चौथो कुरा, उहाँमा ‘डाइनामिक लिडरसिप’ थियो । नेपालको सन्दर्भमा मैले त्यस्तो डिलरसिप थोरै मात्र देखेको छु । राजनीतिसँगै विकास अनिवार्य छ भन्ने उहाँमा स्पष्ट भिजन देखिन्थ्यो । सायद छोटो समयमै जानु थियो, त्यसैले उहाँले जहिल्यै सक्रियतापूर्वक जीवन जिउनुभयो । सधैँ सक्रिय भइरहनुभयो ।
उहाँसँग मेरो अन्तिम भेट ‘भिजिट नेपाल २०२०’ लाई पर्यटन वर्षका विषयमा कुराकानी गर्न भएको थियो । उहाँले मलाई राष्ट्रिय संयोजकको जिम्मेवारी निभाउन प्रस्ताव गर्नुभयो । नेपाल पर्यटन वर्ष २०११ को राष्ट्रिय संयोजकका रूपमा तपाईंले राम्रो भूमिका निभाउनुभएकाले अब पनि तपाईंले जिम्मेवारी लिनुपर्छ भन्ने उहाँको भनाइ थियो । तर, मैले स्वीकार गरिनँ । जहिले पनि एउटै व्यक्तिलाई मात्र त्यो जिम्मेवारी दिँदा अनेक टिकाटिप्पणी हुन सक्छ । राष्ट्रिय संयोजकको जिम्मेवारी अरु कसैलाई दिनुहोला । बरु म सल्लाहकारका रूपमा रहेर जिम्मेवारी निभाउउँछु । आफ्नो ठाउँबाट पूरा सहयोग गर्छु भनेँ । मन्त्रालयमै बसेर यो कुराकानी भएको थियो । उहाँले सहजताका साथ स्वीकार गर्नुभयो ।
छोटो कार्यकालमा उहाँले जे जति काम गर्नुभयो, त्यो राजनीतिक दृष्टिकोणले भन्दा पर्यटनको विकासका दृष्टि बहुआयामिक थियो । राजनीतिक र आर्थिक लाभका लागि भन्दा उहाँले पर्यटनको विकासका लागि आफूलाई समर्पित गर्नुभएको थियो जस्तो मलाई लाग्छ । त्यसैले उहाँको सम्पूर्ण ध्यान एअरलाइन्स, एअरपोर्टहरू र नागरिक उड्डयनमा केन्द्रित थियो । विडम्बना उड्ययनकै कारण उहाँ बित्नुभयो ।