रवीन्द्र अधिकारी साँच्चै विकास प्रेमी मान्छे हुनुहुन्थ्यो । उहाँका हरेक कदम विकासको पक्षमा हुने गरेका थिए । कुनै पनि काम आजै गर्नुपर्ने, अहिले नै गर्नुपर्ने उहाँको स्वभाव थियो । त्यसैले म उहाँलाई ‘एक्सन ओरिएन्टेड’ मान्छे भन्न रुचाउँछु ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हुँदा मात्र होइन, त्यसअघि तत्कालीन संसद्को विकास समितिको सभापति हुँदासमेत उहाँले त्यस्तो स्वभाव प्रस्तुत गर्नुभएको थियो । उहाँको नेतृत्वमा विकास समितिले विकास निर्माणका कामलाई तीव्रता दिन मद्धत पु¥याएको सबैले अनुभव गरेकै कुरा हो । विकास निर्माणका काममा भइरहेका ढिलासुस्ती, अनियमितताका कुरा नियन्त्रण गर्न उहाँले सधैँ नेतृत्वदायी भूमिका निभाउनुभएको थियो ।
पर्यटनमन्त्री भएपछि उहाँले आफ्नो सम्पूर्ण ध्यान पर्यटन क्षेत्रको विकासमा लगाउनुभएको थियो । त्यसैकारण छोटो अवधिमै विमानस्थलहरूको तीव्रगतिमा विकास हुन सक्यो । डोमेस्टिक विमानस्थलहरूमा रात्रि फ्लाइट सुरु गर्नुभयो । आफैँ सक्रियतापूर्वक लाग्नुभयो । धेरै छिटो–छिटो कामहरू गर्नुभयो । झापाको विमानस्थलमा रात्रि सेवा सञ्चालन गर्ने क्रममा म पनि उहाँसँगै गएको थिएँ । उहाँको ‘इनिसियसन’ अरु मन्त्रीहरूका लागि पनि अनुकरणीय थियो । भ्रमण वर्ष सन् २०२० लाई ध्यान दिएर उहाँ पूर्वाधार निर्माणको काममा धेरै सक्रिय हुनुहुन्थ्यो । २० लाख पर्यटक भित्र्याउने उहाँको लक्ष्य थियो । त्यो पूरा गर्न आवश्यक पर्ने सबै व्यवस्थाका लागि उहाँ खटिनुभएको थियो । निजी क्षेत्रसँग उहाँको निकै सौहार्दपूर्ण सम्बन्ध र व्यवहार थियो । त्यसैले उहाँको निधनले पर्यटन क्षेत्रमा धेरै ठूलो क्षति पुगेको छ । देशकै दूरदर्शी राजनीतिज्ञ गुमाएको छ । व्यक्तिगत रूपमा मैले मेरो असल साथी गुमाएको छु ।