Logo
Logo

परिचयपत्र लिँदै द्वन्द्व पीडितले भने- ‘न्याय चाहियो’


नन्दा थापा

315
Shares

बाजुरा । सत्यनिरुपण तथा मेलमिलाप आयोग बनेको सात वर्षपछि बाजुराका द्वन्द्व पीडितले परिचय पत्र पाएका छन् । देश शान्ति प्रक्रियामा आएको १६ वर्ष र द्वन्द्वकालीन मुद्दा र घटनाको निरुपण गर्न बनेको आयोगले सात वर्षपछि बाजुरामा आएर परिचय पत्र वितरण गरेको हो ।

टोली बाजुरा जिल्लामै पुगेर पहिलो पटक ९ जनालाई पीडित परिचय पत्र वितरण गरेको आयोगका शाखा अधिकृत मुना भट्टाराईले बताएका छन् । बाजुराका परिचय पत्र पाउने सूचीमा २१ जनाको नाम पहिलो चरणमा समावेश गरिएको अधिकृत भट्टराइको भनाई छ ।

बडिमालिका नगरपालिकामा आयोजित परिचय पत्र वितरण कार्यक्रममा भने ९ जना पीडितको उपस्थिति थियो । १७ जनालाई दिने भनिएपनि ६ जना सम्पर्कमा नआएको र एक जना काठमाठौंमै बस्ने गरेकोले सबैलाई दिन नसकिएको टोलीले जानकारी गराईएको छ ।

जिल्लाका सूर्य साउँद, अंगे सार्की, छम्मा गिरी, चक्र थापा, उजा विष्ट, बल बुढा, डबल बोगटी, गचे सार्की, गगने अधिकारी, दिलबहादुर बुढा, नयन सार्की, डम्म सार्की, चन्द्रप्रकाश सुनार, राजेन्द्र बहादुर कुँवर, संगम बुढा, पुष्कर दमाइ, पूर्ण दमाई, पूर्णबहादर बुढा, प्रकाश बुढा सहीत परिचय पत्र पाउने सूचीमा छन् ।

सरकारले नै द्वन्द्व पीडितका पक्षमा गर्नु पर्ने जति लगानी र सरोकार नराखेकै कारण पीडितले न्याय नपाएको आयोगकै सदस्यले स्वीकार गरेका छन् । आयोगबाटै सिफारिस गरिएका निर्णयहरू कार्यान्वयनमा सरकार जिम्मेवार र जवाफदेही नबनेको आरोप आयोगको छ ।

उता, पीडितले समेत परिचयपत्र दिएर मात्र नहुने भन्दै न्याय समेत मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्