काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्प तीव्ररुपमा पूरा गर्न प्राविधिक शिक्षाको प्रवद्र्धन तथा विस्तार अनिवार्य भएको बताएका छन् ।
मित्र राष्ट्र दक्षिण कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवनको शुक्रबार भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री आ्लीले सरकार नागरिकलाई जीवनोपयोगी शिक्षा दिन हरेक क्षेत्रबाट लागिपरेको बताएका हुन् ।
शिक्षा प्राप्त गरेकाहरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र आफै समस्या नबनोस् बरु त्यो प्रमाणपत्रलाई व्यक्ति समाज र राष्ट्रलाई नै उपयोगी ढङ्गले योगदान पुर्याउने प्राविधिक शिक्षाको प्रवद्र्धनमा देश लागिरहेको उनले बताए ।
प्रतिष्ठानले दुई दशकभन्दा बढी समयदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम दिँदै आएको छ । हालसम्म ३३ हजारभन्दा बढी व्यक्तिले प्रतिष्ठानमार्फत व्यावसायिक तालीम पाइसकेका छन् ।
कोरियाली सरकारको अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) को अनुदान सहयोगमा सो भवन निर्माण गरिएको हो । कोरियाले नेपाललाई उपलब्ध गराएको ५० लाख अमेरिकी डलरको प्राविधिक सहायताअन्तर्गत भवन निर्माणसँगै प्रशिक्षकको गुणस्तर अभिवृद्धि गर्ने र खासगरी उनीहरुलाई सूचना प्रविधिकसँग अभ्यस्त गराउने उद्देृश्य प्रतिष्ठानको छ ।
नवनिर्मित भवनमा इलाइब्रेरीसमेतको व्यवस्था छ । इ-लाइब्रेरी अन्तर्गत पुस्तकालय प्रवद्र्धन प्रणालीमार्फत प्रयोगकर्तालाई शैक्षिक सामग्री प्रदान गर्ने लक्ष्य पनि परियोजनाको छ ।