चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो नेपाल भ्रमणको क्रममा सोल्टी होटलमा आयोजित भेटघाटको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साक्षी राखेर भनेका थिए– ‘एकपटकको क्रान्तिले मात्र चीनले यो सफलता हासिल गरेको होइन, चिनियाँ कम्युनिष्ट पार्टीको जनतासँग निरन्तर सम्पर्क र साथको कारण चीनले आर्थिक समृद्धि हासिल गरेको हो ।’
नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँगको उक्त भेटघाटमा राष्ट्रपति सीले कम्युनिष्ट नेताहरुमा उच्च नैतिकता हुनुपर्ने र अनुशासन, सुशासनमा जोड दिएका थिए । राष्ट्रपति सीले सधैँ जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने पनि बताएका थिए ।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको दुईतिहाइको नेपाल कम्युनिष्ट पार्टीको सरकार बनेपछि एउटा छिमेकीको नाताले राष्ट्रपति सी निकै उत्साहित थिए । त्यही उत्साहले उनलाई एक रातको लागि भए पनि ०७६ असोज २५ गते नेपाल भ्रमणमा डोर्यायो । यो भ्रमणले दुई देशबीचको कम्युनिष्ट पार्टी मिलेर आर्थिक विकासको काम गर्ने वातावरण बनेको थियो ।
त्यसका लागि ‘बीआरआई’ एउटा माध्यम थियो । जसमा नेपालले हस्ताक्षरसमेत गरेको थियो । तर दुर्भाग्य, राष्ट्रपति सीले देखेको सुन्दर नेपालको सपना गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेर प्रधानमन्त्री ओलीले भताभुंग पारिदिए ।
यस घटनापछि ओलीले चीनसँग गरेका १० बुँदे समझदारी पनि धरापमा परेको छ । २०७६ मा चीनसँग भएको व्यापार पारवहन सन्धि पनि त्यत्तिकै थन्किने अवस्थामा पुगेको छ । कम्तीमा व्यापार पारवहन सन्धि कार्यान्वयन भएको भए सामुद्रिक बन्दरगाहाको लागि भारतको मात्र भर पर्नुपर्ने थिएन ।
तेस्रो मुलुकबाट गरिने आयात निर्यातको ढोका चीनको माध्यमबाट खोल्न सकिन्थ्यो । स्वयं प्रधानमन्त्री ओलीले नाकाबन्दीताका ‘अब नेपालले नाकाबन्दी भोग्नु पर्दैन’ भनेर दक्षिणतिर फर्कँदै उत्तरतिर व्यापार पारवहनको सहमति गरेका थिए । नेपालको इतिहासमा प्रधानमन्त्रीको हैसियतले ओलीले चीनसँग गरेको यो सबैभन्दा महत्वपूर्ण कुरा थियो ।
नेपाल चीन, अमेरिका र भारतको चक्रव्यूहमा फसिसकेको छ । बीआरआई चीनको रणनीतिक कार्यक्रम हो, एमसीसी अमेरिकी । यी दुवै अलपत्र छन् । त्यसमाथि चुच्चे नक्साको कारण भारत चिढिएको छ । यस्तो रणनीतिक भुँमरीमा परेको नेपाललाई ओलीले उठ्नै नसक्ने गरी पछारिदिएका छन् ।
ओली को हुन् भन्ने कुरा चिनियाँहरुले विस्तारै बुझ्दै होलान् । किनभने, पहिलोपटक प्रधानमन्त्री भएर चीन जाँदा नेपालमा भारतले नाकाबन्दी लगाएको थियो । ‘एउटा छिमेकीलाई दुःख पर्दा अर्को छिमेकीले सहयोग गर्नुपर्छ’ भनेर दश बुँदे सहमतिमा चीनले आँखा चिम्लिएर हस्ताक्षर गर्यो । तर, ती कुराहरु अहिलेसम्म कार्यान्वयन भएनन् । यी सबै नाटक उत्तरलाई देखाएर दक्षिण थर्काउने कार्ड थियो भन्ने कुरा दुईतिहाइको सरकार ढालेबाट स्पष्ट हुन्छ ।
चीन र भारत दुई विशाल छिमेकी देशबाट हामीले धेरै फाइदा लिन सक्थ्यौं । दुईतिहाइको स्थिर सरकारले दुवै छिमेकीलाई विश्वासमा लिन नसक्दा अहिले दुईतिहाइको सरकार ‘घर न घाट’को बन्न पुगेको छ ।
नेपाली जनताका लागि अब दुईतिहाइको सरकार ‘आकाशको फल’ बनेको छ । पुस ५ को कदमले राजनीतिक अस्थिरताको जग बसालेको छ । दुईतिहाइको कम्युनिष्ट सरकारले लागू नगरेको ‘बीआरआई’ सम्झौता गैरकम्युनिष्ट सरकारले गर्ला भन्ने आशा अब छैन । किनभने, नेपाल चीन, अमेरिका र भारतको चक्रव्यूहमा फसिसकेको छ ।
बीआरआई चीनको रणनीतिक कार्यक्रम हो, एमसीसी अमेरिकी । यी दुवै अलपत्र छन् । त्यसमाथि चुच्चे नक्साको कारण भारत चिढिएको छ । यस्तो रणनीतिक भुँमरीमा परेको नेपाललाई ओलीले उठ्नै नसक्ने गरी पछारिदिएका छन् ।
ओलीको द्वैध चरित्र बुझेको चीनले अप्रिल १८ देखि २१ तारिखमा सम्पन्न ‘बोआओ’ फोरममा नेपाललाई यसपटक पनि निम्ता गरेन । त्यसैगरी अप्रिल २२–२३ गते वासिङटनमा सम्पन्न भर्चुअल जलवायु शिखर सम्मेलनमा नेपालको उपस्थिति नहुनु थप अर्थपूर्ण छ । जुन सम्मेलन अमेरिकी राष्ट्रपति जो वाइडेनले सम्बोधन गरेका थिए ।
यसरी देशलाई भड्खालोमा जाक्ने प्रधानमन्त्री ओली मित्रराष्ट्र र छिमेकीबाट समेत एक्लिँदै गएका छन् । अब, बाघ आयो, बाघ आयो भनेर छिमेकीलाई झुक्याउने दिन गयो जस्तो छ ।