काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता र शक्तिका लागि देशको भविष्य र राजनीतिक प्रणालीलाई नै फेरि दाउमा राखेका छन् । सुरुदेखि नै ‘म नै देश हुँ’ र ‘म बाहेक अरुले गरेको सबै गलत हो’ भन्ने आत्मकेन्द्रित हठबाट प्रेरित भएर उनले आइतबार अर्को राजनीतिक अस्त्र फालेका छन् ।
सत्ता जोगाउन र कुनै हालतमा मध्यावधि चुनाव गरिछाड्ने आफ्नो हठ पूरा गरिछाड्न उनले चालेका अनेकन कदममध्ये यो पछिल्लो कदम हो । आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने निश्चितप्रायः भएपछि ओलीले विश्वासको मत लिने भएका छन् । २७ वैशाखमा विश्वासको मत लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रायोजन किटेर संसदको अधिवेशन आह्वानसमेत भइसकेको छ ।
यसमा ओलीको कि त विश्वासको मत लिएर पूरा कार्यकाल प्रधानमन्त्री बन्नेछन्, कि त आफ्नै नेतृत्वमा चुनाव गर्ने अभिप्राय लुकेको छ । उनी जसरी हुन्छ सत्ताबाट कदाचित् हट्न चाहँदैनन् । बरु देशलाई अस्थिरताको भुँमरीमा धकेल्न तयार भएका छन् ।
देश कोरोना भाइरसको महामारीसँग जुधिरहँदा मध्यावधि चुनावमा जाने ओलीले यी सबै गतिविधि गरिरहेका छन् । उनी ‘रोम जलिरहेछ नेरो बाँसुरी बजाइरहेछन्’ शैलीमा कोरोना कहरले नागरिक अस्पतालमा शय्या नपाएर मृत्युवरण गरिरहँदा आफ्नै हठको बाँसुरी धुनमा बालुवाटारमा मग्न छन् ।
ओलीले पछिल्लो कदम चाल्नुअघि एकपछि अर्को त्यस्ता कदमहरु चालेका छन्, जसले देशको राजनीतिलाई अस्थिरतातर्फ धकेलेको छ । उनले चालेको कदम वर्तमान राजनीतिक परिवर्तनलाई बलियो बनाउन या पद्धति र प्रणालीको जर्गेना गर्नलाई कदाचित् होइन भन्ने कुरा उनको व्यवहारले देखाएको छ । यसमा उनको सत्ता स्वार्थ केन्द्रमा छ ।
त्यसैले उनले बहुमत प्राप्त कम्युनिस्ट पार्टीलाई दुई टुक्रा पार्ने अवस्था सृजना गरे । अहिले फेरि नेकपा एमालेलाई फुटाउने दिशामा उनको कदम बढिरहेको छ । २३ फागुनमा सर्वोच्च अदालतको फैसलाले ब्युँतिएको एमालेका हस्तीहरुलाई नै पाखा लगाएर ओली जर्बजस्ती बढ्न खोजिरहेका छन् ।
‘नवौं महाधिवेशनले दिएको म्यान्डेटमा टेकेर अगाडि बढौं, महाधिवेशन आयोजक कमिटी गठनलाई मान्छौं तर, निर्वाचित पदाधिकारी कायम राखौं’ भन्ने माधवकुमार नेपालको लचिलो प्रस्तावलाई पनि नकारेर ओलीले तानाशाही प्रवृत्ति देखाइरहेका छन् ।
एमालेको नवौं महाधिवेशनमा कुनै संलग्नता नभएकालाई पार्टीमा महत्वपूर्ण भूमिका दिने र निर्वाचित पदाधिकारीलाई हटाउने ओलीको कदमले पार्टी मात्र नभई देशमै अराजकताको घटनाहरु विकास भएका छन् । पार्टीमा लामो योगदान गरेका माधवकुमार नेपाल र झलनाथ खनाल जस्ता नेताहरुलाई राजनीतिक रुपमा सिध्याउन खोज्ने भूमिका खेलेर ‘गर या मर’ को स्थितिमा पुर्याएका छन् ।
फलस्वरुप नेपालले ६६ जिल्लामा समानान्तर कमिटी गठन गरेका छन् । उनको पक्षमा एमालेमा कठिन समयमा दुःख गरेका नेता कार्यकर्ताको ठूलो साथ छ । असली एमाले नै माधव नेपाल र झलनाथ खनालको पक्षमा देखिएका छन् । उनीहरु कम्युनिस्ट आन्दोलन बिसर्जन हुन नदिन र एमालेलाई जोगाउन अन्तिम समयसँग संघर्ष गरिरहेका छन् । तर, ओली एमालेको अध्यक्ष बनेर एमाले नै सिध्याउन उद्धत छन् ।
ओलीका घातक कदमहरु कम्युनिस्ट पार्टीलाई समाप्त पार्दै अराजकता मच्चाउनेतर्फ उद्धत छन् । जसले धर्म र राजतन्त्रको राजनीति गर्न खोज्ने दक्षिणपन्थी शक्तिलाई ऊर्जा प्रदान गरेको छ । अराजकताबाट दक्षिणपन्थमा रुपान्तरण भएका छन् ।
ओलीले सत्ता जोगाउनका लागि यी सबै खेलहरु खेलिरहेका छन् । उनले जनता समाजवादी पार्टीभित्र खेलेर सत्ता टिकाउने प्रयासहरु जारी राखेका छन् । त्यसका लागि उनले आपराधिक कार्यमा संलग्न भएका १२० जनाको मुद्दा फिर्ता लिने निर्णय गराएका छन् । जसपाको माग सम्बोधन गर्दै जाने प्रतिवद्धताहरु जनाइसकेका छन् ।
जसमध्ये संविधान संशोधन मुख्य रहेको छ । ओली दुई तिहाईको प्रधानमन्त्री बन्दा तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको समेत समर्थन पाएका थिए । राजपाका नेता लक्ष्मणलाल कर्णले दुई तिहाईको सरकारले संविधान संशोधन गर्न सक्ने भएकाले समर्थन गरेको प्रतिक्रिया दिएका थिए ।
उपेन्द्र यादवले ओलीसँग संविधान संशोधन गर्ने सम्झौता गरेर सरकारमा सहभागिता जनाएका थिए । तर, ओलीले संविधान संशोधनतर्फ कुनै कदम चालेनन् । उपेन्द्र यादवलाई अपमान गरेर सरकार छाड्न वाध्य पारियो । उपेन्द्रकै दल समाजवादी पार्टी फुटाउने उद्देश्यले ओलीले गत वर्षको वैशाख ५ गते अध्यादेशमार्फत् दल विभाजन गर्न सजिलो पार्ने विधयेक ल्याएका थिए ।
विधयेक निकै विवादमा पर्यो । राष्ट्रपति विद्यादेवी भण्डारीले विधयेकलाई तुरुन्त सदर गरिन् । यसले राष्ट्रपति जस्तो संस्था पनि विवादमा पर्यो । यो घटना तत्कालीन नेकपा विवाद बढाउने कारण बन्यो । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरुसँग कुनै परामर्श नगरी ओलीले यस्तो कदम चालेका थिए । विधयेक रोक्न राष्ट्रपति भण्डारीसँग भेटको समय लिएका प्रचण्ड समेत हिस्स बनाइए ।
त्यसपछि ओलीले पार्टीमा एकलौटी कदमहरु चाल्न थाले । सहमति गर्ने तर, कार्यान्वयन नगर्ने गर्न थाले । पार्टी विधान नै मिचेर बढे । ओलीको तानाशाही कदमविरुद्ध पार्टीका नेताहरु एकढिक्का भए । तर, तिनलाई ओलीले टेरेनन् । उनले सत्ताका लागि देशको राजनीतिक भविष्यलाई दाउमा राख्ने निर्णय पौष ५ गते प्रतिनिधिसभा विघटनबाट गरे ।
भारी बहुमतको सरकार हुँदा हुँदै उनले आफ्नो सत्ता स्वार्थका लागि प्रतिनिधिसभा विघटन गरेर संविधान नै असफल पार्ने कठोर कदम चाले । तर, सर्वोच्च अदालतले फागुन ११ गते उनको कदमलाई असंवैधानिक ठहर गर्यो । देशमा एउटा ठूलो दुर्घटना टर्यो । तर, फागुन २३ गते एमाले र माओवादी ब्युँताउने अदालतको आदेशले नयाँ घटना विकास भयो । यो घटना विकास हुनुमा ओली नै मुख्य कारण थिए ।
एमाले त ब्युँतियो तर ओलीले आफ्नै पार्टीका नेताहरुमाथि कारबाहीको डन्डा चलाउन थाले । उनको त्यो कदमको परिणामस्वरुप केन्द्रदेखि प्रदेशहरुमा अराजक घटनाहरु विकास हुनथाले । कर्णालीमा एमालेबाट फ्लोर क्रस भयो ।
गण्डकी प्रदेशमा जनमोर्चाका खिमविक्रम शाही शंकास्पद कोभिड–१९ को परीक्षण रिपोर्ट लिएर कोभिड आइसिइयू बेडमा पुर्याइए । ओलीले आफू र आफूनिकट मुख्यमन्त्रीहरुको पद जोगाउन जे पनि गर्न थाले । गण्डकीमा स्वतन्त्र सांसद दिपक मनाङे खेलकुदमन्त्री बनाइए ।
ग्याङस्टरबाट सांसद हुँदै मन्त्री बनेका मनाङे संसदीय राजनीतिको नकारात्मक नमूनाका रुपमा लिइएका छन् । यसले राजनीतिमा अपराधीकरण र अपराधमा राजनीतिकरणको विकास गराएको छ । राजनीतिक अस्थिरता अराजकता हुँदै अपराधिकरणसम्मको मार्ग कोरेको छ ।
केन्द्र देखि ६ वटा प्रदेशमा बहुमत रहेको पार्टीलाई भत्काउँदै बढेका ओलीले देशलाई अस्थिरताबाट अराजकतातर्फ धकेलेका छन् ।
नेपालको राजनीतिमा २०५१ सालपछि कसैको बहुमत नहुँदा संसदीय राजनीतिको खेलमा सांसद किनबेच, अपहरणदेखि नकारात्मक घटनाहरु घटे ।
जम्बो मन्त्रिमण्डल बनाउने प्रवृत्ति पनि विकास भयो । यसलाई नै माथ गर्ने घटनाको विकास हुँदै गएको छ । यसले राजनीतिक प्रणालीलाई नै बदनाम बनाउने सम्भावना बढेको छ । कम्युनिस्ट पार्टीले सत्ता चलाएको बखत यसअघि कहिले कुनै सरकार बदनाम भएको थिएन ।
विगत एक वर्षमा ओलीका कदमहरु कम्युनिस्ट पार्टीलाई नै बदनाम गराउने खालका रहे । उनी र उनका घातक कदमहरुको सहयोगीहरु कम्युनिस्ट पार्टीलाई समाप्त पार्ने र अन्तगत्वा देशमा अराजकता मच्चाउने मार्ग खोल्न उद्धत छन् ।
जसले धर्म र राजतन्त्रको राजनीति गर्न खोज्ने दक्षिणपन्थीहरुलाई ऊर्जा प्रदान गरेको छ । ओली आफै अराजकताको वातावरण बनाएर आफै दक्षिणपन्थमा रुपान्तरण हुन गइरहेको उनको पछिल्लो व्यवहारले पुष्टि गरेको छ ।