काठमाडौं । ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका दीपक मनाङ्गेलाई विभिन्न अपराधमा प्रहरीले १३ पटकसम्म पक्राउ गरेर मुद्दा चलायो । पटक–पटक प्रहरी हिरासतमा पुगेका तीनै मनाङ्गेलाई गत शुक्रबार गण्डकी प्रदेशका डिआइजी घनश्याम अर्यालले स्यालुट ठोके ।
सत्ता जोगाउन गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्री बनाएका छन् । शपथग्रहण कार्यक्रममा पुगेका डिआइजी अर्यालले मनाङ्गेलाई स्यालुट ठोकेको तस्वीरले सिंगो प्रहरीकै शिर लाजले निहुरिएको छ ।
गुन्डागर्दीबाट कमाएको कालोधन जोगाउन उनी राजनीतिमा प्रवेश गरेका हुन् । २०७४ सालको निर्वाचनमा मनाङमा एमालेकै सहयोगमा उनले चुनाव जितेका थिए । सायद अहिले गण्डकी प्रदेशमा अस्वस्थ राजनीति हुँदैन थियो भने, मनाङ्गेजस्ता व्यक्ति त्यो पदमा पुग्दैन थिए । राजनीति विकृतिको परिणमस्वरुप डनहरु देशको राजनीतिमा हाबी हुँदै आएका छन् । मनाङ्गे मन्त्री नियुक्तिले सिंगो एमालेका इमान्दार कार्यकर्ताको भावनामा चोट पुर्याएको छ ।
मन्त्री मनाङ्गेको विगतः डकैतीदेखि ठगीसम्म
पहिलो अभियोग– डकैती
प्रहरीबाट प्राप्त तथ्याङकअनुसार मनाङ्गेविरुद्ध १३ वटा अभियोग लागेका छन् । मनाङ्गेविरुद्ध पहिलो मुद्दा डकैतीसम्बन्धि थियो । २०५९ सालको १७ भदौमा झापा घैलाडुब्बा घर भई काठमाडौं अनामनगर बस्ने लोचनप्रसाद विमली लगायतलाई खाना खान बोलाएर मनाङ्गेको समूहले होटल उडल्याण्डमा डकैती गरेका थिए । एक लाख २८ हजार दुई सय २० रुपैयाँ डकैती गरेको घटनामा उनीविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो ।
धारीलो हतियार प्रहार
२०६० सालको पुस ९ गते उनले ह्यात होटलमा नगेन्द्र श्रेष्ठ समेतलाई धारीलो हतियार प्रहार गरी घाईते बनाएका थिए । जसमा उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा चल्यो । त्यसको भोलिपल्ट उनी पक्राउ परेकोमा १७ पुसमा उनी जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशले १० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।
चक्रे मिलनको बायाँ हात छिनाइदिएका
२०६० सालमै उनीविरुद्ध प्रहरीमा अर्काे जाहेरी परेको थियो । चैत १४ गते होटल याक एण्ड यतीमा सुनील श्रेष्ठलाई कुटपिट गरेकोमा सार्वजनिक अपराधको मुद्दा दर्ता भएको थियो । उनलाई फरार अभियुक्त बनाई मुद्दा चलाइएको थियो । उनीहरुविरुद्धको सबैभन्दा चर्चित मुद्दा २०६१ सालमा दायर भयो ।
१ बैशाख २०६१ मा महाराजगंजस्थित चुफाङ रेष्ट्ररेण्टमा चक्रे मिलन (मिलन गुरुङ)लाई धारीलो हतियार प्रहार गरी चक्रे मिलनको बायाँ हात छिनाइदिएकोमा उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । मनाङ्गेले सो मुद्दामा इन्कारी बयान नै दिएका थिए । सो होटलमा प्रत्यक्षदर्शी रहेका व्यक्तिले सनाखत गर्दै मनाङ्गेले नै हतियार प्रहार गरेको बताएपछि जिल्ला अदालतले उनलाई २ वर्षको जेल सजाय सुनाएको थियो । त्यहीबेलासम्म २ वर्ष जेल सजाय काटिसकेकाले उनी छुटे ।
जिल्लाको फैसलाविरुद्ध सरकारले २०६४ फागुन २८ मा पुनरावेदन गर्यो । उक्त मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले २०६९ साउन २८ मा फैसला सुनाउँदै मनाङ्गेलाई थप ३ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । २०७४ मा सर्वाेच्चले उच्च अदालतकै फैसला सदर गरेको थियो ।
गोली प्रहार
२०६३ सालमा गुन्डागर्दीमै संलग्न काजी शेर्पासँगको विवाद प्रहरीमा पुग्यो । ९ फागुन २०६३ मा चुडाल देवी मन्दिर नजिकै हिडेका काजी शेर्पाको डेरा अगाडी शेर्पालाई गोली प्रहार गरेकोमा ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको थियो । मनाङ्गेका सहयोगी अशोक राईलाई पक्राउ गरी अनुसन्धान पश्चात मुद्दा दायर भएको थियो ।
त्यतिबेला मनाङ्गेलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । त्यो मुद्दामा उनी १७ असोज २०६४ सालमा अदालतमा उपस्थित भएकोमा अदालतले २५ हजार धरौटी माग गरेको थियो । तर, धरौटी नराखी उनी नख्खु कारागार गएका थिए । केही समयपछि उनी कारागारबाट छुटे ।
२०६५ सालमा गुन्डागर्दीकै आरोपमा उनी पक्राउ परे । अभिशेख विक्रम शाहको जाहेरीमा काठमाडौं प्रहरीले १४ साउनमा पक्राउ गरेको थियो । त्यसमा उनी वन्दी प्रत्यक्षीकरणको रिटमार्फत छुटेका थिए ।
आफ्नै पार्टीका नेतामाथि हमला
२०६८ सालमा फेरि उनी प्रहरीको खोजीमा परे । त्यतिबेला उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पार्टीमा आबद्ध भई सो पार्टीको उपाध्यक्ष बनेका थिए । ३ जेठ २०६८ मा पार्टीको शान्तिनगरस्थित कार्यालयमा बैठक बसिरहेको थियो । बैठककै क्रममा उनले पार्टीका चन्द्रबहादुर चौधरीलाई कुटपिट गरि सख्त घाईते बनाएका थिए । जून घटनामा उनी पक्राउ परी तीन हजार धरौटीमा छुटेका थिए ।
२०६५ मै पुरानै घटनामा उनी पक्राउ परे । अभिशेख विक्रम शाहको जाहेरीमा उनलाई एक वर्ष कैद र पाँच हजार जरिवाना भएकोमा सुरुमा आफु दीपक मनाङ्गे नभई राजीव गुरुङ भएको भनेर छुटेकेमा २०६५ को १५ माघमा दुवै नाम गरेका व्यक्ति एकै हुन् भनी प्रहरीले पेश गरेकोमा उनी एक वर्ष कैद बसेर छुटेका थिए ।
उनै मनाङ्गेविरुद्ध ठगी मुद्दा पर्यो, राजनाथ उपध्यायले उनीविरुद्ध काठमाडौं प्रहरीमा ठगी मुद्दामा जाहेरी दिएका थिए । जसमा प्रहरीले उनलाई १७ चैत २०६९ मा पक्राउ गरेको थियो ।
१४ करोड अवैध सम्पति
सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते मनाङ्गेलाई १४ करोड ७३ लाख ३१ हजार अवैध सम्पत्ति राखेको अभियोग लगाएर मुद्दा दायर गर्यो । विशेष अदालतले २ करोड ९० लाख धरौटी बुझाउन नसके पछि २०७० साल भदौमा थुनामा पठाएको थियो । पछि धरौटी बुझाएर छुटेकोमा २०७४ को भदौमा सफाई पाएका थिए । बिशेषको फैसलाविरुद्ध सरकारी वकिलले सेटिङमा पुनरावेदन नगरी म्याद गुजारेको थियो । यसमा उनले चलखेल गरेको स्रोत बताउँछ ।
२०७० सालमै उनी काठमाडौं हिरासतमा पुगे । अपहरण र ज्यान मार्ने धम्की दिएको उजुरीमा दशरथ रंगशालाबाटै प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर, अदालतबाट उनी धरौटीमा छुटेका थिए । त्यतिबेला उनीविरुद्ध संगठित र ठगी मुद्दा चलेको थियो ।
राप्रपा हुँदै एमाले प्रवेश
२०७४ फेरि उनी पक्राउ परे । स्थानीय तहको चुनावलाई प्रभावीत पार्न सक्ने भन्दै उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेर थुनामा राखेको थियो । त्यसपछि राप्रपामा लागेर मनाङको अध्यक्ष भएका उनी राप्रपाको सिंगो कमिटीलाई नै लिएर २०७४ सालमा एमाले प्रबेश गरेका हुन् । संसद बन्ने महत्वाकांक्षाले नै उनी एमाले प्रबेश गरेका थिए । सुरुमा एमालेले टिकट नदिए पनि एमालेका उम्मेदवारले मनाङ्गेलाई नै समर्थन गरेर चुनाव जिताएका थिए ।
एन्फा कास्कीका अध्यक्षमाथि हमला
प्रदेश सांसदमा निर्वाचित भएपछि पनि उनी गुन्डागर्दीको आरोपमा पक्राउ परे । ९ माघ २०७६ मा कास्की प्रहरीले उनलाई पक्राउ गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटेको अभियोगमा उनलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।
प्रहरीको शिर निहुरियो
प्रहरीले दुई डनको इन्काउन्टर गरेपछि यसरी अन्य ठूला दलमा सक्रिय भएका हुन् । सुरुमा पुष्कर कार्कीले दिनेश अधिकारी चरीको इन्कान्टर गरे । दोस्रो इन्कान्टरमा कुमार घैंटे परे । प्रहरीले गणेश लामाको समेत इन्कान्टर गर्ने प्रयास गरेकोमा उनी भाग्यले बाँचेका थिए ।
गुण्डा, डन, तस्कर पैसाको बलमा मन्त्री बनेपछि प्रहरीको मनोबल खस्किएको छ । मनाङ्गेजस्ता गुण्डालाई एमालेले सत्ता जोगाउने नाममा मन्त्री बनाएपछि प्रहरीको शिर निहुरिएको छ । त्यसमाथि नेकपा एमाले कम्युनिष्ट पार्टी हो । यो पार्टीका कार्यकर्ताका लागि फलामे अनुशासन पहिलो शर्त हो ।
तर, ओली पार्टी अध्यक्ष भएपछि एमालेमा पुराना नेता, कार्यकर्ता ओझेलमा पर्दै गए भने भ्रष्ट, माफिया, डन, बिचौलिया एमाले निकट भए । पछिल्लोपटक मोतीलाल दुगडले राजश्वमारा व्यापारीहरुलाई एमाले प्रवेश गराएपछि अब यो पार्टी कम्युनिष्टको रहेन, बिचौलिया र माफियाको भयो भनेर स्वयं एमालेका इमान्दार कार्यकर्ताहरु भन्दैछन् ।