काठमाडौं । प्रधानमन्त्री केपी ओेलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्ताव अस्वीकृतसँगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् ।
र, संविधानको धारा ७६ ९२० अनुसार बहुमतको सरकार गठन प्रक्रिया सुरु भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा एक सय २४ मत परेको थियो । उपस्थित दुई सय ३२ सांसदमध्ये १५ तटस्थ बसेका थिए ।
एमालेका खनाल–नेपाल समूहका २८ सहित ३४ सांसदले मतदानमा भाग लिएनन् । सभामुख पनि मतदान प्रक्रियामा सहभागी भएनन् । मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्नँ भन्ने तीन तरिका व्यवस्था थियो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए ।
मतपरिणाम सुनाउँदै सभामुख सापकोटाले भने, ‘नेपालको संविधानको धारा १००९१० बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनी प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्तावको पक्षमा ९३ मत परेको र उक्त संख्या प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत नभएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नुभएको प्रस्ताव अस्वीकृत भएको घोषणा गर्दछु ।’
प्रधानमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन हाल संसद्मा कायम रहेको दुई सय ७१ सदस्यमध्ये बहुमत अर्थात् एक सय ३६ मत आवश्यक पथ्र्यो । चार सांसद निलम्बनमा रहेकाले प्रस्तावमा सभामुखबाहेक दुई सय ६६ सांसदले मत दिन सक्ने अधिकार थियो ।
मतबराबर भएमा मात्र सभामुखले मतदान गर्न पाउँछन् । तर, मतदानमा दुई सय ३२ सांसद सहभागी भए ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।