Logo
Logo

दुबई पुगेका चार युवा अलपत्र


दृष्टि संवाददाता

1.6k
Shares

काठमाडौं । एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर, निरज मगर, सुमन सुवेदी र हरि खड्का अलपत्र बन्न पुगेका हुन् ।

काम नपाएपछि त्यहाँ खान र बस्न नै समस्या भएको पीडित युवाको भनाइ छ । ती सबै युवालाई झापा, गौरादह–१ का विक्रम राई र लालबहादुर गजमेरले दुबईको चकलेट फ्याक्ट्रीमा काम दिने भन्दै जनही रु एक लाख ७० हजार असुलेर भ्रमण प्रवेशाज्ञामा विदेश पठाएका थिए । भनेअनुसार काम पाउन नसक्दा भोकै बस्नुपर्ने अवस्था आएको पीडित युवा निरज मगरले बताए ।

सामाजिक सञ्जालमा आफ्ना पीडा राख्ँदै पीडित युवा निरजले जति छिटो उद्धार गरिदिन आग्रह गरेका छन् । ‘यहाँ हामी एकै ठाउँमा कोचिएर भोकै बस्नु परेको छ’ उनले भनेका छन्, ‘विदेशको सपना देखाएर हामीलाई यहाँ बिजोग बनाए, हामीलाई जतिसक्दो छिटो घर पठाउने व्यवस्था गरिदिनुपर्‍याे ।’

विदेश पठाउने प्रतिनिधिलाई भने पनि आलटाल गरिआएको सुमनकी आमा सविता सुवेदीले बताए । उनले विदेशमा गएर मासिक कम्तीमा रु एक हजार ड्राम्स पाउने भनेर विदेश पठाएका हुन् । अहिले विदेश पठाउने दलालमध्येका विक्रम राईले भने अनुसार काम दिलाउन नसकिएको तर अन्यत्र काम गर्न नमानेका कारण समस्या आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्