काठमाडौं । बिहीबार एकैदिन नेपाल प्रहरीका तीन कर्मचारीको निधन भएको छ । एक असई, एक हवल्दार तथा एक परिचरको निधन भएको हो । फरक–फरक कारणबाट उनीहरुको मृत्यु भएको हो ।
रुपन्देहीमा गाडीको ठक्करबाट डिउटीमा रहेका प्रहरी हवल्दारको मृत्यु भएको छ । रुपन्देही, कंचन गाउँपालिका–४ थकाली चोकस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पिकेट डिउटीमा रहेका ईलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीमा कार्यरत प्युठान ऐरावती गाउँपालिका–२ घर भएका ३५ वर्षीय प्रहरी हवल्दार कर्ण बहादुर बुढामगरको बिहीबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी भइरहेको रुपन्देही प्रहरीले जनाएको छ ।
उता काठमाडौंमा पूर्व एआइजीको घरमा कार्यरत एक प्रहरी मृत भेटिएका छन् । पूर्व एआइजी कमलसिंह बमको मुलपानीको ग्रिल हिल सिटी हाउजिङभित्र रहेको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमला मृत भेटिएका हुन् ।
उनी झुन्डिएको अवस्थामा भेटिएका छन् । प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ।
कोभिड १९ को संक्रमणबाट नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक(असइ)को निधन भएको छ । महानगरीय अपराध महाशाखामा कार्यरत असई देवी पुरीको बिहीबार निधन भएको हो । उनी महाशाखाबाट ठिमी वृत्तमा कार्यरत थिए। उपचारको क्रममा प्रहरी अस्पतालमा उनको मृत्यु भएको महाशाखाले जनाएको छ ।