Logo
Logo

संसद सचिवालयका कर्मचारीलाई आजदेखि दोस्रो चरणको खोप


दृष्टि संवाददाता

2.3k
Shares

काठमाडौं । दोस्रो चरणको कोरोनाविरुद्धको खोप संघीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई आज (शुक्रबार)देखि लगाइने भएको छ । संघीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने तालिका बिहीबार सार्वजनिक गरिएको हो ।

पदाधिकारी, सदस्यहरू, स्वकीय सचिवालयका कर्मचारी, कर्मचारी, सुरक्षाकर्मीलगायतलाई फरक फरक बार तोकिएको छ । पहिलो चरणमा कोभिसिल्ड खोप लगाएको आठ हप्ताको अवधि पूरा गरेका, खोप लगाएपछिको अवधिमा कोरोना सङ्क्रमित भए पनि २८ दिनको समयावधि पूरा गरेका व्यक्तिले दोस्रो डोज खोप लगाउन पाउनेछन् ।

शुक्रबार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र सङ्घीय संसद्का दुवै सदनका सदस्यहरूको पालो तोकिएको सचिवालयले जनाएको छ । यस्तै शुक्रबार नै सभामुख, अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरूका स्वकीय सचिवालयका कर्मचारीको पनि खोपको पालो तोकिएको छ ।

सचिवालयका अनुसार शनिबार संघीय संसद् सचिवालयका सम्पूर्ण कर्मचारी र सङ्घीय संसद् भवन बानेश्वर (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र)का कर्मचारीलाई खोप लगाइनेछ । यस्तै, आइतबार स्वकीय सचिवलगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा छुटेका अन्य व्यक्तिलाई खोप लगाइनेछ ।

सर्वोच्च अदालतको फैसलाले पुनस्र्थापित भएको प्रतिनिधि सभाको हिउँदे अधिवेशन प्रारम्भअघि सांसद तथा अन्य सरोकारवाला पक्षलाई पहिलो चरणमा खोप लगाइएको थियो । फागुन १९, २० र २१ गते कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्