काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड विरुद्धको खोप लगाउन चाहने १८ वर्षमाथिका व्यक्तिहरू आफैले प्रि रजिस्ट्रेसन फाराम भर्न आग्रह गरेको छ । मन्त्रालयले खोप लगाउन चाहने व्यक्तिका लागि एप तयार पारेको जानकारी गराएको हो ।
मन्त्रालयले आवेदन फारामबाट प्राप्त भएका विवरण पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन गर्न पनि सहज हुने जनाएको छ । मन्त्रालयका अनुसार भ्याक्सिन डट एमओएचपी डट एनपीमा गई विवरण भर्न सकिन्छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उक्त विवरण भरेका आधारमा खोप आएपछि लगाउन सकिने जानकारी दिए । उनले जुन व्यक्तिले पहिले भरेको छ, त्यही आधारमा खोप लगाउन पाइने स्पष्ट पारे । जुन व्यक्तिले सुरुमा फाराम भर्छ त्यही आधारमा पहिले खोप लगाइने उनको भनाइ छ ।
कम हुन थाल्यो नयाँ संक्रमितको संख्या
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरले संक्रमित र मृत्यु हुनेका संख्या दर बढेको बढ्कै छ । तर पछिल्लो समय नयाँ कोरोना संक्रमितको संख्या केही कम हुन थालेको तथ्यांकले देखाएको छ ।
एकै दिन नौ हजारभन्दा बढी संक्रमित फेला पर्ने गरेकोमा शुक्रबार भने देशभर आठ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशका अधिकांश भागमा लगाइएको निषेधाज्ञा र स्वास्थ्य मापदण्डमा गरिएको कडाइले कोरोना सङ्क्रमण थप वृद्धि नहुने देखिन्छ ।
पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा २० हजार ९४८ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको थियो । पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ हजार ४६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै वितेको २४ घण्टामा थप २०३ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्ल्लेख छ । अघिल्लो दिन २१४ जना सङ्क्रमितको मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या चार हजार ६६९ पुगेको छ ।
अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार ३३६ पुगेको छ । मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट छ हजार १३५ जना सङ्क्रमित निको भएका छन् । योसहित हालसम्म कोरोना निको हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ । निको हुने दर कूल सङ्क्रमितको ७४ दशमलब ५ प्रतिशत हो ।
काठमाडौँ उपत्यकामा थप तीन हजार ३४९ जना कोरोना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा दुई हजार ४५८, भक्तपुरमा ३३५ र ललितपुरमा ५५६ जना गरी थप तीन हजार ३४९ जना थपिएका हुन् । हाल एक हजार ३३४ जना आईसीयू र ३७१ जना सङ्क्रमित भेन्टिलेटरमा उपचार गराइरहेका मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा १९० आईसीयू र ५५ भेन्टिलेटरमा, प्रदेश २ मा १८९ आईसीयू र ४० जना भेन्टिलेटर, बागमती प्रदेशमा ५४२ आईसीयू र २२० जना भेन्टिलेटरमा छन् । यस्तै गण्डकी प्रदेशमा ९२ जना आईसीयू र १९ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६४ जना आईसीयू र १६ जना भेन्टिलेटरमा, कर्णालीमा १०८ जना आईसीयू र ६ जना भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा ४९ जना आईसीयू र १५ जना भेन्टिलेटरमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाको उपचार हुने काठमाडौँ उपत्यकाका अस्पतालमा २९० जना सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा रहेको छन् । यस्तै एक हजार ८२५ जना सङ्क्रमित आइसोलेसनमा उपचाररत छन् ।
अक्सिजन सिलिन्डर घरमा नराख्न आग्रह
चिकित्सकको सिफारिसबिना घर वा संस्थामा अक्सिजन सिलिन्डर नराख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार सचिवस्तरको बैठकले उक्त निर्णय गरेको हो ।
मन्त्रालयले घर वा संस्थामा भएका सिलिन्डर नजिकको अस्पताल वा स्थानीय प्रशासनमा उपलब्ध गराउन पनि आग्रह गरेको छ । मन्त्रालयले कोरोना महामारी बढ्दै जाँदा धेरै व्यक्तिहरूले आफूखुसी अक्सिजन सिलिन्डर घरमा मौज्दात राखेका कराण यस्तो आग्रह गरिएको जनाएको छ ।