Logo
Logo

भारतमा दैनिक संक्रमण र मृत्युदर घट्यो


दृष्टि संवाददाता

1.4k
Shares

नयाँदिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा कोरोना संक्रमण र मृत्यु दरमा घटेको छ । झण्डै एक साता लगातार चार लाख भन्दा बढी संक्रमित र चार हजारको मृत्यु भएको थियो ।

भारतमा पछिल्लो २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोही अवधिमा तीन हजार ८९० जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म कोभिड–१९ बाट मृत्यु भएकाको संख्या दुई लाख ६६ हजार २०७ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ४३ लाख ७२ हजार पुगेको छ जसमध्ये दुई करोड चार लाख ३२ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतमा हाल ३६ लाख ७३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो ।

हालसम्म १८ करोड व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ । गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन ।

भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कफ्र्यु लगाएका छन् ।

हाल, कोभिडको ठूलै सङ्कट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ ।

प्रतिक्रिया दिनुहोस्