काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा दिउँसो १ बजेपछि भेटवार्ता तय भएको हो । आजको भेटवार्तामा कार्यदलका बाँकी सदस्यको नाम टुंगो लगाउने तयारी रहेको छ ।
शनिबार कार्यदलका बाँकी सदस्य समेत टुङ्गो लगाएर औपचारिक रुपमा घोषणा गर्ने तयारी गरिएको थियो । तर, कार्यदलमा रामबहादुर थापा ‘बादल’लाई समावेश गर्नुपर्ने ओली पक्षले प्रस्ताव गरेपछि माधव समूहले असहमति जनाएको थियो । माधव समूहको असहमतिपछि कार्यदल घोषणा रोकिएको थियो ।
ओली–नेपाल वार्ताको पहिलो दिन नै अनौपचारिक रुपमा कार्यदल गठन गरिसकिएको छ । तर, औपचारिक रुपमा घोषणा हुन बाँकी छ । घोषणा हुन बाँकी कार्यदलमा ओली समूहको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल छन् भने नेपाल समूहकोतर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सदस्य छन् । बाँकी दुई सदस्य थपेर कार्यदल घोषणा गर्ने तयारी रहेको छ ।