Logo
Logo

राष्ट्रियसभाको उपनिर्वाचनमा मतदाताको पीसीआर रिपोर्ट अनिवार्य


दृष्टि संवाददाता

945
Shares

काठमाडौं । जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा सबै मतदातालाई पीसीआर परीक्षण अनिवार्य गरिएको छ । निर्वाचन आयोगलेराष्ट्रिय सभा सदस्य उपनिर्वाचन सम्पन्न गर्न स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी आइतबारदेखि लागू गरेको हो ।

आयोगको मापदण्ड अनुसार मतदाताले ७२ घण्टा अवधित्रिको पीसीआर रिपोर्ट देखाउनुपर्नेछ । यस्तै, मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुईजना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना गरिने छ भने साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क लगाएर मात्र प्रवेश गर्नुपर्ने आयोगले प्रस्ट पारेको छ ।

कोभिड संक्रमण देखिएका मतदाताका लागि छुट्टै केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको र त्यस्तो मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिहरू सबैले अनिवार्य रुपमा पिपिइ प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको आयोगले आइतबार विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

आयोगका अनुसार मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने र सबैले अनिवार्य रुपमा फेस सिल्ड, पञ्जा र मास्क लगाउनुपर्ने छ ।

मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५ जना मतदाताले मतदान गरी सकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छाप लगायतका मतदान सामग्रीहरु र मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि र मतगणना स्थलमा मतपेटिका खोल्नु अघि अनिवार्य रुपमा मतपेटिका निसंक्रमण गर्नुपर्ने व्यवस्थासमेत गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्